माग सम्बोधन नभए सबै कक्षा ठप्प पार्ने निजी विद्यालय संचालकहरुको चेतावनी

पत्रपत्रिकाबाट

शुक्रबार, २६ असार २०७७, ०८ : ५३
माग सम्बोधन नभए सबै कक्षा ठप्प पार्ने निजी विद्यालय संचालकहरुको चेतावनी

काठमाडौं । निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले आज शुक्रबारसम्म कुनै निर्णय नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

दुई संस्थाले आफूहरुको मागप्रति सरकारले बेवास्ता गरेको उल्लेख गर्दै आन्दोलन गर्नुको विकल्प नभएको बताएका छन् । उनीहरुले सरकारको आश्वासन कुरेर आफूहरु हैरान भएको बताएका छन् ।

शिक्षामन्त्रीको आग्रहलाई स्वीकारेका प्याब्सन र एन प्याब्सनले आज शुक्रबारसम्म कुनै निर्णय नभए विद्यालय ठप्प पार्ने योजनासहितको कार्यक्रम सार्वजनिक गर्ने भएका छन् । उनीहरुले कुनै पनि निजी शिक्षण संस्थाले पढाउन नपाउने गरी आन्दोलन गर्ने जनाएका छन् ।

प्याब्सन अध्यक्ष टीकाराम पुरीले आज शुक्रबारसम्म कुनै निर्णय नभए सबै विद्यालय बन्द गरेर आन्दोलनमा जानुको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अति भयो, कति दिनसम्म पर्खने, अब हामी कसैको आश्वासन नमानी अनलाइन कक्षा बन्द गरेर आन्दोलनमा जानेछां ।’

उहाँले निजी मात्र नभई गुठी र अन्य विद्यालयको समेत पठनपाठन ठप्प पार्ने तयारी भइरहेको बताउनुभयो । यही २२ गते मन्त्री पोखरेलसहितको सरोकारवाला निकायसँग भएको बैठकमा मन्त्रालयले निजी विद्यालयले पेस गरेको मागको विषयमा छलफल गरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड उच्चस्तरीय समितिमा सिफारिस गर्ने निर्णय भएको थियो ।

‘मन्त्री पोखरेलले कोभिड समितिसमक्ष माग पेस गर्नु भए नभएको विषयमा कुनै जानकारी छैन । मन्त्रीज्यूले के जानकारी गराउनुहुन्छ भन्ने प्रतीक्षामा छौं’ –प्याब्सनका सहअध्यक्ष डीके ढुंगानाले भन्नुभयो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस