प्रचण्डले ओलीलाई फेरी भने, ‘अध्यक्ष रहनुस्, प्रधानमन्त्री छोड्नुस्’

सफल खबर संवाददाता

बुधबार, २४ असार २०७७, ०८ : ३३
प्रचण्डले ओलीलाई फेरी भने, ‘अध्यक्ष रहनुस्, प्रधानमन्त्री छोड्नुस्’

काठमाडौं । सत्तासिन नेकपाका दुई अध्यक्षका बीच लगातार वार्ता र सम्वाद भईरहेको छ । दुई नेताका बीचमा मात्रै वार्ता भईरहेका बेला कुराकानी सहमति नजिक पुगेको बालुवाटार निकट नेताहरुले प्रचार गरेपनि नेताहरुका वीचमा भएको छलफल लेनदेनमा आधारित अहिलेसम्म भएकै छैन् ।

आइतबार दुई नेताबीच भनाभन, सोमबार प्रधानमन्त्री केपी ओली र मंगलबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो धारणा राखेका थिए । बालुवाटार निकट नेताहरुले प्रधानमन्त्री ओलीले कुनै पनि पद नछोडने गरी ४ मंसिर २०७६ को सहमतिलाई नै थप ब्याख्या गरेर जाने गरी सहमति नजिक पुगेको बताईरहेपनि भित्री छलफल भने अहिलेसम्म त्यस्तो नरहेको रहस्य सफलखबरले प्राप्त गरेको छ ।

बरु उल्टै प्रचण्डले हिजोको छलफलमा स्वेच्छाले प्रधानमन्त्री ओलीलाई दुई मध्ये एक पद त्यसमा पनि मुख्यतः प्रधानमन्त्री पदबाटै राजीनामा दिन आग्रह गरेका छन् ।  ‘तपाई (प्रधानमन्त्री)ले पार्टी विधि पद्धतीमा चलाउनु भएन, पार्टीलाई बेवास्ता गर्नुभयो । सरकार नि राम्रोसँग चलेन् । तपाईले नेताहरुलाई नै अनेक आरोप लगाउने सम्मका कुरा राख्नुभयो । पार्टी विभाजन सम्मको योजना बनाउनु भयो । यस्तो स्थितीमा निकास दिनैपर्छ । तपाईले त्याग गर्नेपर्छ ।

दुईटा मध्ये एउटा स्वेच्छाले छोडनुहोस । मुख्यतः प्रधनमन्त्री नै छोडनुहोस,’– मंगलबार प्रचण्डले ओलीसँगको वान टु वान छलफलमा भनेका छन् ।  प्रचण्डले सचिवालयका अन्य ४ नेतालाई ओलीसँगको छलफलपछि आफ्नै निवास खुमलटारमा बोलाएर तीन दिन यताको छलफलको ब्रिफिङ सुनाएका थिए । तर ओलीले अहिलेसम्म दुवै पद नछोड्ने अडान दोहोराईरहेकै छन् । 

दुवै नेताले एक एक दिन आफ्ना आफना कुरा राखेपछि आजको छलफलमा भने सहमतिको लागि ओली कति लचक हुने या प्रचण्ड कति लचक हुने भन्नेमा केन्द्रीत हुने देखिएको छ । आज नै स्थायी समितिको बैठक अगाडी दुई अध्यक्षको फेरी छलफल हने देखिएको छ । ओलीको स्वेच्छाचारिता र कार्यशैलीका विरुद्ध प्रचण्ड ,माधव नेपाल समुह दुईमध्ये एक पद छोडने वटमलाइनमा दायाँबायाँ नहुने गरी अडानमै देखिएका कारण नेकपाको विवाद अझै गहिरिने देखिन्छ ।
 

प्रतिक्रिया दिनुहोस