‘इनफ इज इनफ’ अभियान र  सरकार बिच १२ बुँदे सहमति, अनसन स्थगित

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, ११ : ४३
‘इनफ इज इनफ’ अभियान र  सरकार बिच १२ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ । कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकार विरुद्ध सडक आन्दोलनमा उत्रिएका ‘इनफ इज इनफ’ अभियान र सरकारबीच १२ बुँदे सहमति भएको छ । सरकारसँगको सहमतिसँगै सडक आन्दोलन पछि थालेको अनसन उनीहरुले स्थगित गरेका छन् । 

स्वास्थ्य मन्त्रालय र अनसनरत युवाबिच सोमबार १२ बुँदे सहमति भएको हो । सोही सहमति अनुसार मंगलबार बिहान ‘इनफ इज इनफ’ इशान अधिकारी (इ) सहितले अनशन तोडेका छन् । सत्याग्रही युवा र सरकारबीच विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनमा बस्ने या राख्ने व्यवस्था गर्ने सहमति भएको छ । होम क्वारेन्टिनको निर्देशिका हप्तादिन भित्र तयार पार्ने पनि उनीहरु बिच सहमती भएको छ । 

यस्तै जोखिममा रहेका सबै (लक्षण देखिएका र नदेखिएका) को राज्यको नीति अनुसार पीसीआर परीक्षण गर्ने गरी हालको निर्देशिका हप्तादिन भित्र परिमार्जन गर्ने, आरडीटीको प्रयोग स्थगित गर्ने, क्वारेन्टिन र होल्ङ्गि सेन्टरमा समयका आधारमा छुट्याएर राख्ने व्यवस्था गर्ने, क्वारेन्टिनमा रहेकाहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ देखिए मात्रै घर पठाउने व्यवस्थाको कार्यविधि यसै हप्ता तयार गर्ने सहमति भएको छ ।

युवाहरुले कोरोना भाइरसको परीक्षण आरडीटी विधिबाट नभइ पीसीआरबाट हुनु पर्ने, क्वारेन्टिनको व्यवस्था राम्रो हुनु पर्ने, भ्रष्टाचार रोकिनु पर्ने र नागरिकको जीवन रक्षा गर्नु पर्नेसहितका माग राखेर आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस