मध्यरात फेरी अख्तियार प्रमुखसँग प्रधानमन्त्री ओलीको खासखुस !

सफल खबर संवाददाता

मंगलबार, २३ असार २०७७, ०९ : ३५
मध्यरात फेरी अख्तियार प्रमुखसँग प्रधानमन्त्री ओलीको खासखुस !

काठमाडौं । पार्टीभित्र निक्कै अप्ठयारोमा परेका प्रधानमन्त्री केपी ओली आफ्नै पार्टीका नेताहरुलाई तर्साउन र गलाउन अनेक रणनीतिमा लागेका छन् । त्यसैका लागि उनले आफ्नो भेटघाट र गतिविधि अन्त्यन्त शंकास्पद ढंगले अगाडी बढाईरहेका छन् । सामान्यतयाः अवस्था सामान्य रहेका बेला पनि उनले अवस्था अत्यन्त सम्वेदनशील रहेको जस्तो जनाउ दिन र पार्टीभित्रकै प्रतिपक्षी समेतलाई अनेक आशंका उत्पन्न हुने गरी सम्वैधानिक अंगका पदाधिकारीलाई राज्यशक्तिको स्रोत साधनको दुरुपयोग गरी शंकास्पद ढंगले भेटघाट र कुराकानी गर्ने गरेका छन् । 

दुई दिन अगाडी मात्रै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग बालुवाटारमै आफु निकट नेताहरु उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाडलाई साक्षी राखेर आफनो सम्भावित कदम र सुरक्षा अवस्थाका बारेमा झण्डै तीन घण्टा छलफल गरेको प्रधानमन्त्री ओलीले आइतबार बेलुकी मध्यरातमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनप्रसाद घिमिरेसँग वार्ता गरेको खुलेको छ ।

ओलीले अख्तियार प्रमुख घिमिरेलाई आइतबार बेलुकी १० बजे बोलाएर मध्यरात १ बजेसम्म बालुवाटारमा छलफल गरेको र छलफललाई निक्कै गोप्य राखेको रहस्य खुलेको छ । यो भेटको बालुवाटार स्रोतले पुष्टि गरेको छ । प्रधानमन्त्री र अख्तियार प्रमुखको बालुवाटारमा आइतबार बेलुकी भेट भएको हो, बालुवाटार स्रोतले सफलखबरसँग भन्यो, तर भेटघाट के विषयमा छलफल थियो, भन्ने बारेमा भने खास थाहा हुन सकेन् ।  ओलीले यसैगरी गत वैशाख १६ मा पनि ५ मिनेट वारीपारी रहेका प्रधानन्यायधिस चोलेन्द्र सम्शेर राणालाई आफनो निवासमा बोलाएर मध्यरातसम्म छलफल गरेका थिए ।

ओलीले मध्यरात अबेरसम्म प्रधानन्यायधिस राणालाई बोलाएर छलफल पनि ठिक त्यस्तो बेला गरेका थिए, त्यसबेला पनि ओली पार्टीभित्र निक्कै अप्ठयारो अवस्थामा थिए । पार्टी विभाजन गर्नका लागि ओलीले राजनीतिक दल सम्बन्धी ऐन संसोधन अध्यादेश ल्याएका थिए । पार्टीसँग सल्लाहै नगरी पार्टीभित्र आफुलाई अप्ठयारो परेमा दल समेत विभाजन गरेर जाने बाटोका लागि उनले त्यसबेला अध्यादेश ल्याएका थिए । चौतर्फी विरोध भएपछि र उनी निकट सांसद महेश बस्नेत, लिलानाथ श्रेष्ठ समेत पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सम्म सांसद नै अपहरण सम्ममा मुछिएर विवादमा आईरहेका बेला चोलेन्द्रसँग प्रधानमन्त्रीको त्यसबेला पनि मध्यरात १ बजेसम्मै छलफल भएको थियो । 

युद्धकालका मुद्दा ब्ँयूताउने र तत्कालिन माओवादीका नेताहरुलाई अदालती प्रक्रियाबाट कस्ने रणनीति अन्र्तगत रहेर प्रधानमन्त्रीले प्रधानन्यायधिस राणासँग भेट गरेको हुन सक्ने अड्कलबाजी त्यसबेला गरिएको थियो । त्यो भेट पनि प्रधानमन्त्री ओलीको सचिवालय बैठकमा राजीनामा माग गरेको पूर्वसन्ध्यामा भएको थियो ।  ठीक अहिले पनि ओलीले पार्टीभित्रै उनको बहुमत स्थायी समिति सदस्यले राजीनामा माग गरेको, उनी उस्तै परे फेरि त्यसबेला फिर्ता लिएको पार्टी विभाजन सम्बन्धी अध्यादेश अगाडी बढाएर पार्टी विभाजन गर्ने, अझ उस्तै परे संकटकाल सम्म लगाउने भन्ने चर्चा परिचर्चाका बीच भेटघाट भएको छ ।

उनले तत्कालिन माओवादीका नेताहरुलाई आफ्नै निकट नेताहरु प्रयोग गरेर कथित लडाकु शिविरमाथीको भ्रष्टाचारको आरोपमा अख्तियारमा मुद्दा दर्ता गराउन लगाएको मुद्दा ब्ँयूताउने र अर्का वरिष्ठ नेता माधव नेपाललाई बालुवाटारको जग्गा प्रकरणमा प्रधानमन्त्री भएका बेला नीतिगत निर्णय गरेको आरोपमा आरोपित गराउने योजनाका साथ भेटघाट गरेको हुन सक्ने आशंका गरिएका छन् ।  भलै उनले त्यस विषयमा छलफल नगरेपनि मध्यरात सम्वैधानिक अंगका प्रमुखलाई बोलाएर छलफल गर्नुपर्ने, त्यो पनि राती १ बजेसम्म प्रधानमन्त्रीलाई के बाध्यता आईलाग्यो ? स्वभाविक प्रश्न उठेको छ । 

अख्तियार प्रमुख नविन घिमिरे ओली निकट नै रहेका कारण पनि उनलाई भेटघाट र कुराकानी गर्न सहज पनि छ । तर उनले संम्वेदशील सम्बैधानिक अंगका प्रमुखसँगको मध्यरातको भेटघाट किन आवश्यक रह्यो भन्ने चासो नेकपाभित्र उठेको छ । ओलीले पार्टीभित्र आईपरेको आफनो संकट टार्ने रणनीतिमा फकाउने, गलाउने र तर्साउने तीन स्टेपको रणनीति अख्तियार गर्दै आईरहेका छन् । उनले उपाध्यक्ष वामदेव गौतम देखि स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सम्मलाई अनेक प्रलोभनमा फकाउने प्रयास गरे । सफल हुन सकेनन् ।

माओवादी धारका नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट लगायतलाई आफनो क्याम्पमा तान्न प्रयास गरे । रामबहादुर थापाले ओलीलाई साथ दिएनन् । रायमाझी र थापाको बोलीको टोन नरम बनाए र लेखराजलाई आफनै समुहतिर तान्न सफल भए । तर अन्य नेतालाई फकाउन नसक्दा उनी पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय समिति तिन वटै निकायमा निक्कै कमजोर अवस्थामा देखिन पुगे । 

त्यसपछि उनले दोश्रो रणनीति अगाडी बढाए, गलाउने । पार्टी नेताहरुले बैठक माग गर्दा बैठक बोलाउन अरुची देखाउने, नबोलाउने, बोलाईहालेपनि आफ्ना कुरा राख्ने र बैठक नै छोडेर हिडिदिने, लिंगरिङ मात्र गरिदिने रणनीति ओलीले लिए । त्यसमा पनि ओली सफल नदेखिएपछि उनले तर्साउने रणनीति अन्र्तगत कहिले पार्टी नेताहरुलाई कथित भारतीय करार गर्न खोज्ने, आफु नक्कली राष्ट्रवादी बन्ने, अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने, अदालत, अख्तियार देखाएर तर्साउन खोज्ने सम्मको रणनीति ओलीले अख्तियार गरिरहेका छन् । 

पार्टीभित्रका नेताहरुलाई अख्तियार देखाएर तर्साउने रणनीति अन्तर्गतकै विषय खास नभएपनि मध्यरातसम्म अख्तियार प्रमुखलाई आफुसँगको भेटमा इन्गेज गरिरहदा तर्साउन सकिने ठानी यो भेटघाट गरेको हुन सक्ने अनुमान पनि लगाउन थालिएको छ । तर मध्यरातसम्म उनले अख्तियार प्रमुख घिमिरे सँग किन भेट गरे ? यो रहस्यमै छ । अख्तियार स्रोतले भने घिमिरेले प्रधानमन्त्री सँग मध्यरातमा भेटेको विषयमा अनिभिज्ञता जाहेर गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस