काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य पूरा भएको छ । आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको हो । पानी पठाइए पनि सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने बताइएको छ ।
यसैक्रममा मेलम्ची निर्माण सम्पन्न भएको जानकारी गराउन आइतबार पत्रकार सम्मेलन गरियो । जहाँ बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजना सम्पन्न गरिएको जानकारी पाउँदा आफूलाई गौरव बोध भएको बताइन् । मगरले भनिन्, “मेलम्चीबारे थुप्रै आशंका थिए । आम जनतामा निरासा थियो ।

मेलम्ची कतै दन्त्यकथा हुने त होइन भन्ने खालका चिन्ता पनि थिए । तर, हामीले चुनौतीसँग जुध्यौं । ती सबै आशंकाहरु, अन्यौलताहरु, गलत प्रचारहरु हटाएर रातदिन काममा खटिरह्यौं । आज आयोजना सम्पन्न भएको छ । यो हाम्रा लागि ऐतिहासिक उपलब्धी हो ।”
मन्त्री मगरले आयोजना सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । उनले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि निकै मेहेनतका साथ आयोजना सम्पन्न गर्न लागिरहेको दाबी गरिन् । पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले अब छिटै उद्घाटन गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने जानकारी दिए ।
मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीका अनुसार सुरुङमा पानी हालि सकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी वितरणको प्रक्रिया सुरु गरिनेछ ।
आयोजानाले यसअघि नै सुरुङको परीक्षणका लागि चाहिने सबै आवश्यक प्राविधिक तयारी आयोजनाले सम्पन्न गरिसकेको दाबी गरेको छ । सुरुमा परीक्षणका लागि प्राविधिक मापदण्ड अनुसार प्रति सेकेन्ड २ सय ६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिएको हो ।
यसअनुरुप पानी प्रवाह गर्दा २६ किलोमिटर सुरुङ भरिएपछि पूर्ण भरिएको सुरुङलाई केही दिन यथास्थितिमा राखिनेछ । त्यसपछि पानी भरिएकै दरमा सुरुङ खाली गरिन्छ । त्यसक्रममा सुरुङको अवस्थाको पूर्ण परीक्षण गरिएपछि कुनै समस्या देखिएमा आवश्यकता अनुसार समाधान गरिनेछ । र, त्यसपछि भने नियमित रुपमा पानी पथान्तरण गरी काठमाडौं उपत्यकाको वितरण प्रणालीको लागि उपलब्ध हुने आयोजनाको दाबी छ । सुरुङमा पानी पथान्तरण गरिएसँगै काठमाडौंबासीको दुई दशक भन्दा लामो प्रतिक्षा सम्बोधन भएको खानेपानी मन्त्रालयको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ असार २०७७, १७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
मेलम्ची खानेपानी वितरण बन्द