खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने : मन्त्री ढकाल

रासस

विहीबार, १८ असार २०७७, २० : ४९
खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले खोप सेवाको माध्यमबाट बालस्वास्थ्यमा सुधार ल्याइने बताउनुभएको छ । 

मन्त्रालयका आज आयोजित नियमित खोपमार्फत नयाँ खोप रोटा खोप र सरसफाइ प्रवद्र्धन कार्यक्रमको शुभारम्भ गर्दै उहाँले रोगको नियन्त्रण, निवारण र उन्मूलन गरी बालबालिकामा हुने रोगाणुदर, अपाङ्गतादर र मृत्युदरमा कमी ल्याई बालस्वास्थ्यमा सुधार ल्याइने बताउनुभयो । 

मन्त्री ढकालले अन्तर्राष्ट्रिय, राष्ट्रिय लक्ष्य, उद्देश्य र प्रतिबद्धतानुसार खोप सेवाको प्रभावकारी सञ्चालन र व्यवस्थापनमा नेपाल सरकार सदैव कटिबद्ध रहेको बताउँदै यो कार्यक्रबाट बालबालिकामा हुने सङ्क्रामक रोगहरु नियन्त्रण, सरसफाइ प्रवद्र्धन, बच्चाका लागि स्तनपान, बच्चालाई सुरक्षित र पोषिलो खाना खुवाउने, आवश्यक समयमा हातधुने, सबैले सफा चर्पिको प्रयोग गर्ने र बालबालिकालाई पूर्णखोप लगाउने जस्ता व्यवहारहरु परिवर्तन भई समग्र बालस्वास्थ्यमा समेत सुधार आउनेछ भन्नुभयो । 

उहाँले कतिपय सङ्क्रामक रोगहरु हामीले नियन्त्रण गरिसक्दा अझ पनि शिशु तथा बालबालिकामा झाडापखाला भइरहने र मृत्यसमेत हुने गरेकाले रोटा भाइरस विरुद्धको खोप सञ्चालन गर्न थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरसफाइ प्रवद्र्धन कार्यक्रम हालको विश्वव्यापी महामारीको रुपमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागिसमेत सान्दर्भिक छ ।’’

मन्त्री ढकालले नेपालमा अझ पनि एक प्रतिशत बालबालिका खोप शून्य अवस्था र करिब २१ प्रतिशत बालबालिका आंशिक खोप पाएको अवस्था रहेको उल्लेख गर्दै खोपसेवाको प्रभावकारी ब्यवस्थापन र सञ्चालन गरी सबै बालबालिकाले पूर्णखोप प्राप्त गरेको सुनिश्चित गर्न स्थानीय तहले विशेष पहल र प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । 

रोटा खोप झाडापखालाविरुद्ध दिइने खोप हो । वर्षेनी तीन लाख ५० हजार देखि चार लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये ९ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेका छन् ।  पहिलो पटक ६ हप्तामा र दोस्रो पटक १० हप्तामा बालबालिकालाई उक्त खोप खुवाइने गरिन्छ । खोपको मात्रा १.५ मिलिलिटर हुन्छ । 

सरकारले शिशु तथा बालबालिकाको स्वास्थ्य रक्षाका लागि नयाँ खोपको रुपमा राष्ट्रिय खोप कार्यक्रममा रोटा खोप समावेश गरेको छ । 

प्रतिक्रिया दिनुहोस