आज असार पन्ध्र : दही चिउरा खाने मान्यता

सोमबार, १५ असार २०७७, १३ : ३३
आज असार पन्ध्र : दही चिउरा खाने मान्यता

चितवन । आज असार पन्ध्र, दही चिउरा खाने मान्यता छ । आजको दिन सबैले दही चिउराको व्यवस्था गर्छन् ।  यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । घर–घरमा दही चिउरा खाइन्छ आज । 

सबैलाई थाहा छ, असार पन्ध्रमा दही–चिउरा खानुपर्छ । दही–चिउरा खानु परम्परा हो । असार पन्ध्रमै किन दही चिउरा खाने प्रचलन चलाइयो ? यसको महत्व के होला ? भन्ने विषयको कौतुहलता सबैलाई लाग्न सक्छ । हाम्रो मुलुक कृषिमा आधारित छ । धेरैजसोको जीवन खेतीकिसानीमा बित्ने गर्छ । धेरैजसोले पशुपालन गर्छन्, अन्नवाली लगाउँछन् ।

अतः असार–साउन अर्थात वर्षायाम भनेको खेतीबाली लागाउने मध्य सिजन । यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ । अन्नवाली लगाउनका लागि यो नै अनुकुल सिजन हो ।

खेतीपातीमा खटिने किसानहरुलाई यतिबेला भ्याइनभ्याई हुन्छ । किसानहरु दिनभर माटोमा खेल्छन्, हिलोमा खेल्छन्, मलखाँद तयार गर्छन्, अन्नबाली लगाउँछन् । बिहानदेखि साँझसम्म उनीहरु काममा खटिन्छन् । त्यसैले त असारलाई ‘मानो खाएर मुरी उब्जाउने सिजन’ भनिन्छ । अर्थात यो आयआर्जनको स्रोत बढाउने मेलो पनि हो । थोरै खाएर धेरै काम गर्ने बेला हो । वास्तवमा भन्ने हो भने किसानहरुलाई फुर्सदले खाने समय पनि हुँदैन यतिबेला ।

कामको चटारो हुने भएकाले यतिबेला किसानहरुका लागि छिटोमिठो खाजा हो, दही–चिउरा । दही–चिउरा तयारी परिकार हुन् । यसलाई पकाइरहनु पर्दैन । दही चिउरा बनाउन समय लाग्दैन । त्यसैले काममा हतारोबीच दही चिउरा उपयुक्त हुन्छ ।

वर्षायाममा दही चिउरा सेवन गर्नुको सम्बन्ध स्वास्थ्यसँग पनि छ । वर्षायाममा खानेकुराको माध्यामबाट संक्रमण सर्ने भय हुन्छ । यतिबेला झिंगा, लामखुट्टे, साङ्ला आदिले खानेकुरा दुषित बनाउन सक्छ । यसैगरी गर्मीले गर्दा चाडै सड्ने, गल्ने हुन्छ । त्यसैले पकाएको वा पकाएर राखेको खानेकुराले पेटमा संक्रमण हुने, अपच हुने संभावना रहन्छ ।

दही–चिउरामा त्यस्तो संक्रमणको भय हुँदैन । यसलाई पकाउन नपर्ने भएकाले छिटो हुन्छ, बनाउन सजिलो र छरितो हुन्छ । स्वस्थ्यवद्र्धक पनि हुन्छ । दही पाचन यन्त्रका लागि निकै उपयोगी पेय मानिन्छ । दहीमा भएका व्याक्टेरियाले पाचन पक्रियामा सघाउ पु¥याउँछ । त्यसैगरी गर्मीमा यो पेयले शरीरलाई सितलता प्रदान गर्छ ।
त्यसो त दहीमा कार्बोहाइड्रेट, भिटामिन बिसि हुन्छ, यसले शरीरलाई फुर्तिलो बनाइराख्न सहयोग गर्छ । दही चिउरा खेतीबालीमा मात्र खाने परिकार होइन । साथसाथै असार पन्ध्रमा मात्र खाने परिकार पनि होइन । दही चिउरा वर्षायामको खाजा हो ।
 

प्रतिक्रिया दिनुहोस