ट्रक दुर्घटनाः एकको मृत्यु, एक गम्भीर

रासस

शनिबार, १३ असार २०७७, २१ : ०५
ट्रक दुर्घटनाः एकको मृत्यु, एक गम्भीर

काठमाडौं । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको खोडपे–बझाङ सडकखण्डको धारीमा आज बेलुका १० चक्के ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका–२ बुडरका २० वर्षीय भुवन सुब्बा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै दुर्घटनामा ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएको प्रहरीचौकी खोड्पेका प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिनुभयो । तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने मृतकको शवपरीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।  

दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गइरहेको ना.६ख ४४५० नंको १० चक्के ट्रक जयपृथ्वी राजमार्गअन्तर्गत पाटन नगरपालिका–८ धारीमा आज बेलुका साढे ५ बजे दुर्घटनामा परेको हो । ट्रक सडकबाट चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ट्रकमा चालक र सहचालक मात्रै रहेका थिए । स्टेरिङ फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।