काठमाडौँ । बुधबार रातिदेखि नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले त्यस क्षेत्रमा बाढी र डुबानको खतरा बढ्दै गएको छ ।
अब लगातार तीन दिनसम्म ती क्षेत्रसहित नेपालका विभिन्न भूभागमा निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुन सक्रिय भएकाले देशभर बदली भई वर्षा हुने क्रम जारी छ । बीच–बीचमा रोकिए पनि वर्षा जारी रहने छ । सुदूरपश्चिममा तुलनात्मक रूपमा कम वर्षा भए पनि गण्डकी, बाग्मती प्रदेश, प्रदेश १ र २ का विभिन्न क्षेत्रमा तीन दिन भारी वर्षा हुनसक्छ । योसँगै तराईको चुरे क्षेत्रमा लगातार वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुुभयो ।
यसरी पहाडी भेगसँगै तराई क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले तराईका नेपाल–भारत सीमा क्षेत्रका नदीमा बहाव बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
चुरेसँगै तराईका क्षेत्रमा मनसुनी वायु सक्रिय रहेकाले त्यस क्षेत्रमा नेपालहुँदै भारत जाने ठूला नदी र स्थानीय नदीमा बहाव बढ्ने सङ्केत देखिएको बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलले जानकारी दिनुभयो । त्यसैले सीमावर्ती क्षेत्रका नेपालका बस्ती डुबान र बाढीको चपेटाबाट बचाउन पूर्वतयारी आवश्यक भइसकेको पोखरेलले बताउनुभयो ।
बिहीबार प्रदेश २ को सप्तरी, सिराहा, धनुषाको धेरै स्थान, सर्लाही, रौतहट, महोत्तरी, बारा, पर्साको केही स्थान, प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, बाग्मती प्रदेशको चितवन, प्रदेश ५ को कपिलवस्तु, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियाको भारतीय सीमा आसपास धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । ती स्थानको भारतीय सीमा आसपास भई बहने स–साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना दर्शाउँदै तटीय क्षेत्रमा सतर्कताका लागि अनुरोध गरिएको छ ।
बिहीबार, शुक्रबार र शनिबार प्रमुख र मझौला नदीमा बहाव बढ्दो क्रममा रहनुका साथै कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती र बबईका केही साना सहायक नदीमा बहाव बढ्ने जनाइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ असार २०७७, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओमानमा बाढीवाट मृत्यु हुनेको संख्या १८ पुग्यो, दुइ अझै बेपत्ता
इन्डोनेसियामा बाढी पहिरोमा परी १९ जनाको मृत्यु
सोमालियामा बाढीका कारण सय जनाको मृत्यु
सोमालियामा बाढीबाट १०० को मृत्यु
तीन महिनामा बाढी र पहिरोमा परी पाँच जनाको मृत्यु
सम्पर्कमा आए सिक्किम बाढीपछि बेपत्ता ५ नेपाली, परिवारमा छायो खुसी