एमसीसी अनुमोदन सम्झौतामा अमेरिकाको चासो

पत्रपत्रिकाबाट

विहीबार, ११ असार २०७७, ०६ : ५१
एमसीसी अनुमोदन सम्झौतामा अमेरिकाको चासो

काठमाडौँ । विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदनमा ढिलाइ र यही कारण राजनीतिक असमझदारी बढेका बेला अमेरिकाले एमसीसी सम्झौतामा नेपालको स्थितिबारे सरोकार राखेको छ । अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोले एमसीसी कार्यान्वयनमा नेपालमा भइरहेको ढिलाइबारे सरोकार राखेका हुन् ।

विदेशमन्त्री पोम्पियो र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच बुधबार दिउँसो भएको फोनवार्तामा एमसीसी सम्झौताबारे अहिलेको स्थिति र भविष्यबारे कुराकानी भएको थियो । ‘विदेशमन्त्री पोम्पियोले एमसीसी सम्झौताको सन्दर्भमा अब के हुन्छ भनेर चासो राख्नुभएको थियो, मैले सरकारको अहिलेको पोजिसनबारे स्पष्ट पारें,’ परराष्ट्रमन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘सरकारले एमसीसी सम्झौताको प्रस्ताव संसद्मा पेस गरिसकेको र अहिले छलफलमै रहेको अवगत गराएँ ।’

मन्त्री ज्ञवालीले एमसीसी मामिलामा नियमित परामर्शमा रहे पनि यसलाई सकारात्मक ढंगले टुंग्याउन प्रयत्नशील रहेको जवाफ आफूले दिएको बताए । सत्तारूढ दल नेकपाको आन्तरिक किचलोका कारण संसद्मा प्रवेश गरेको एक वर्ष भइसक्दा पनि एमसीसी सम्झौता अनुमोदन हुन सकेको छैन । संसद्को हाल जारी बर्खे अधिवेशनबाट अनुमोदन गर्ने भनिए पनि नेकपाभित्र हुबहु अनुमोदन गर्न नहुने मत प्रभावी बनेको छ ।

नेकपाले एमसीसीका सन्दर्भमा आन्तरिक अध्ययन कार्यदल पनि बनाएको थियो । कार्यदलले यथास्थितिमा एमसीसी सम्झौता कार्यान्वयनमा लैजान नहुने भन्दै यसका प्रावधानमा संशोधनको आवश्यकता औंल्याएको छ । कार्यदलको सुझाव प्रतिवेदनमाथि पार्टी छलफल नगराई संसद्मा अनुमोदन प्रक्रिया अघि बढाउन सरकारले सकेको छैन । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस