दुई लाख शिक्षक तलबबाट वञ्चित, निजी विद्यालयले ३ महिनादेखि दिएनन्

पत्रपत्रिकाबाट

आइतबार, ०७ असार २०७७, ०८ : ३५
दुई लाख शिक्षक तलबबाट वञ्चित, निजी विद्यालयले ३ महिनादेखि दिएनन्

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । 

बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकको अवस्था बेहाल भएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइन लगायतका वैकल्पिक माध्यमबाट वैशाखदेखि नै अध्यापन सुरु गरेका छन् तर शिक्षकले काम गरेको तलब भने पाउन सकेका छैनन् । देशभरमा निजी क्षेत्रबाट सञ्चालित सात हजार विद्यालयमा २२ लाखभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । 
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले संस्थागत विद्यालयका शिक्षकले गत चैतदेखि जेठ महिना सम्मको तलब पाउन नसकेको जानकारी दिए । उनका अनुुसार तीन महिनादेखि तलब नपाउँदा उनीहरूको आर्थिक अवस्था नाजुक भएको छ । उनले ७५ प्रतिशत शिक्षकले चैतको समेत तलब नपाएको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस