चिनियाँ कम्युनिष्ट पार्टीसँग फेरी नेकपाका नेता, कार्यकर्ताले प्रशिक्षण लिदैं

सफल खबर संवाददाता

शुक्रबार, ०५ असार २०७७, ०९ : ५४
चिनियाँ कम्युनिष्ट पार्टीसँग फेरी नेकपाका नेता, कार्यकर्ताले प्रशिक्षण लिदैं

file photo

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी र नेपालको सत्तारुढ दल नेकपाका बीचमा आज भर्चुअल कार्यशाला गोष्ठी हुने भएको छ । नेपाली समय अनुसार, दिउँसो पौने २ बजे यो अन्र्तक्रिया शुरु हुनेछ । यो भर्चुअल अन्र्तक्रियाको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभाग र नेपालको कम्युनिष्ट पार्टीको स्कुलिड विभागको संयुक्त आयोजनामा हुन लागेको हो । 

यस अगाडी गत वर्ष काठमाडौंमा प्रत्यक्ष रुपमै यस्तो अन्र्तक्रिया भएको थियो । पार्टी र देशलाई परिचालन गर्ने अनुभव आदानप्रदान गर्न चीन र नेपालका सत्तारुढ पार्टीको उच्च पदाधिकारी बिचको गोष्ठी भनेर यो अन्र्तक्रिया हुन लागेको हो । अन्र्तक्रियामा बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागका नेताहरूले नेपालका कम्युनिष्ट नेताहरूलाई आफ्ना अनुभव प्रस्तुत गर्नुका साथै सुशासनका लागि पार्टीको अनुशासन, भ्रष्टाचार विरूद्धको शून्य सहनशीलता, समसामयिक विश्व परिस्थितिलगायतका विषयमा प्रशिक्षण दिने नेकपाका एक नेताले बताए ।

भिडियो अन्तक्रियामा नेपालका तर्फबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल लगायत १ सय भन्दा बढी उच्चस्तरीय नेताहरू सहभागी हुने बताईएको छ । नेताहरूलाई चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ थाओलगायत नेताहरूले प्रशिक्षित गर्ने जनाइएको छ । ताओ यस अगाडी काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुन नेपाल आएका थिए । 

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा त्यसबेला चीन र नेपालका दुई कम्युनिष्ट पार्टीका बीचमा पहिलो पटक अन्र्तक्रिया भएको थियो । त्यसैबेला यी दुई पार्टीका विदेश विभागले ६ बुँदे सम्झौतापत्रमा हस्ताक्षर समेत गरेका थिए । दुई देशका बीचमा पार्टी पार्टी सम्बन्ध, जनता जनता सम्बन्ध विकास गर्ने र आपसी सम्बन्ध विकास गरेर लैजाने गरी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । यो अन्र्तक्रियामा प्रधानमन्त्री केपी ओली भने सहभागी हुने नहुनेमा अहिले केही बताईएको छैन् ।

कमल थापाको विरोध
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीका बीचमा हुनलागेको यो अन्र्तक्रियामा नेपालका राजनीतिक दलका नेताहरुले भने आपत्ति जनाउन थालेका छन् । राप्रपा अध्यक्ष कमल थापाले यस खालको अन्तक्रियालाई वाहियात भनी टिप्पणी गरेका छन् । सामाजिक सन्जाल ट्वीटरमा प्रतिक्रिया दिदै थापाले त्यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, आपत्तिजनक नवऔपनिवेशिक अभ्यास । अब यसैगरी अन्य राजनीतिक दलहरुले पनि आफु अनुकूलका बिदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतिक र आर्थिक सहयोग लिने क्रम शुरु गर्ने हो भने नेपालको हालत के होला ? के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउन खोजिएको हो ? स्टप दिस ननसेन्स ।’