लकडाउनमा पनि सांसदले लिए सवारी भत्ता

पत्रपत्रिकाबाट

विहीबार, ०४ असार २०७७, ०६ : ४७
लकडाउनमा पनि सांसदले लिए सवारी भत्ता

फाईल फोटो

काठमाडौँ । लकडाउनमा सवारीसाधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको पाइएको छ । सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात ठप्प थियो । संसद्को छैटौं अधिवेशन चैत २६ मा सुरु भएको थियो ।

भाडाको ट्याक्सी नचल्ने र निजी गाडी रिजर्भ गरेरसमेत बैठकमा जान नसक्ने अवस्था भएपछि संसद् सचिवालयले सांसदहरुका लागि गाडी व्यवस्था गरेको थियो । तर बैठकमा सहभागी भएबापत एक हजार र यातायात भत्ताबापत एक हजार रुपैयाँका दरले अरू बेलाकै जसरी सांसदले भत्ता लिएका छन् ।

लकडाउनका बेला संसद् बैठक चलिरहेकाले सचिवालयले सांसद ओसार्न चारवटा स्कारपियो गाडी व्यवस्था गरेको छ । सचिवालयका उच्च पदस्थ कर्मचारीले पनि बाटोमा पर्ने सांसदलाई संसद् भवनसम्म पुर्‍याउने गरेका छन् । संसद् सचिवालय सिंहरदबारबाट संसद् भवन बानेश्वरसम्म बससमेत सञ्चालन गरिएको छ ।

धेरैजसो सांसद आफ्नै गाडीमा र गाडी नहुने केही सांसद अरूको गाडीमा चढेरसमेत संसद् भवन पुगिरहेका छन् । तर संसद् सचिवालयले यातायात खर्च दिइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस