काठमाडौँ । नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो ।
“लामो समयदेखि प्रयोग नभएका सिमकार्डलाई पुनः प्रयोग गर्न रिसाइकल गरिएको हो,” टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले भन्नुभयो । यसरी रिसाइकल गरिएका नयाँ सिमकार्डको नम्बर पुरानै हुने भए पनि बजारमा पुनः बिक्री गर्न सकिने उहाँको भनाइ छ ।
नेपाल टेलिकमले प्राधिकरणबाट हाल ९८४ र ९८६ नम्बरको अपरेटर कोड प्राप्त गरेको छ । टेलिकमका सिमकार्ड नम्बर यिनै अङ्कबाट सुरु हुन्छन् । यसबाहेक टेलिकमले ९८५ लाई पोस्टपेड सिमकार्ड प्रयोगकर्ताका लागि उपयोग गरिरहेको छ ।
९८४ र ९८६ बाट बढीमा टेलिकमले दुई करोड सिमकार्ड नम्बर सिर्जना गर्नसक्छ । गत मङ्सिरमै प्रिपेडतर्फको दुई करोड सङ्ख्या नाघेपछि टेलिकमले त्यसयता रिसाइकल गरेरै बजारमा सिमकार्ड उपलब्ध गराइरहेको छ ।
“अपरेटर कोडबाट सिर्जना हुने नम्बरको क्याप पूरा भएपछि अहिले रिसाइकल गर्दै निष्क्रिय सिमकार्डलाई पुनः सक्रिय बनाइरहेका छौँ,” अधिकारीले भन्नुभयो । प्राधिकरणको निर्देशनबमोजिम नै पुराना निष्क्रिय सिमकार्डलाई रिसाइकल गरिएको उहाँको दाबी छ । पुरानो नम्बरको चाहना गर्ने प्रयोगकर्तालाई पनि यसले सहयोग पुग्ने उहाँले बताउनुभयो ।
नेपाल दूरसञ्चार प्राधिकरणले २०७१ चैत २ गते छ महिनासम्म प्रयोग नभएका सिमकार्ड स्वतः निष्क्रिय गर्नुपर्ने निर्णय गरेको थियो । सिमकार्ड खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्राधिकरणले त्यस्तो निर्णय गरेको थियो । यद्यपि सिमकार्ड निष्क्रिय गराउँदा आफ्ना प्रयोगकर्ताको सङ्ख्या घट्ने भयले सेवा प्रदायकले प्राधिकरणको उक्त निर्णय भने लागू गरेका छैनन् । थप सिमकार्ड नम्बर सिर्जना हुनसक्ने स्थिति नरहेपछि नेपाल टेलिकमले पहिलोपटक ठूलो सङ्ख्यामा निष्क्रिय सिमकार्ड प्रयोगमा ल्याउने काम सुरु गरेको हो ।
टेलिकमको यो कदमले कम्पनीको ग्राहक सङ्ख्या भने स्वात्तै घटेको छ । प्राधिकरणले सार्वजनिक गरेको चैत महिनासम्मको एमआईएस प्रतिवेदनअनुसार टेलिकमले मङ्सिरयता ४२ लाखभन्दा बढी प्रयोगकर्ताको सङ्ख्या गुमाउनुपरेको छ । यद्यपि टेलिकमले उक्त तथ्याङ्क पूर्ण रूपमा सही नभएको दाबी गरिरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ जेठ २०७७, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको अफर : आकर्षक मूल्यमा भ्वाइस तथा डाटा प्याकेज
नेपाल टेलिकमले बन्द गर्यो कपर प्रविधिमा आधारित टेलिफोन सेवा, फाइबरमा स्तरोन्नति
एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा डाटा प्रयोग गर्न सकिने
नेपाल टेलिकमको 'ब्रान्ड एम्बेस्डर'मा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाल टेलिकमको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त
नेपाल टेलिकमले गर्याे सस्तो दरमा डाटा रोमिङ सेवा सञ्चालन