काठमाडौ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद मुनाफामा उल्लेख्य गिरावट देखिएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा टेलिकमको खुद मुनाफा १२.९८ प्रतिशतले घटेर ४ अर्ब १६ करोड ४५ लाख ९ हजार रुपैयाँमा खुम्चिएको टेलिकमले जनाएको छ। गत वर्षको यसै अवधिमा कम्पनीले ४ अर्ब ७८ करोड ५९ लाख २५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
मुनाफामा गिरावट आए पनि कम्पनीको सञ्चालन आयमा भने सामान्य सुधार देखिएको छ। टेलिकमका अनुसार यस अवधिमा कुल सञ्चालन आय १.७३ प्रतिशतले बढेर १७ अर्ब २९ करोड ९७ लाख ३० हजार रुपैयाँ पुगेको छ। यद्यपि, कुल आय भने १.५ प्रतिशतले घटेर १९ अर्ब २२ करोड ७२ लाख ६६ हजार रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा कम्पनीको कर अघिको मुनाफा र ब्याज, कर तथा ह्रासकट्टी अघिको मुनाफामा पनि क्रमश: ४.५९ प्रतिशत र २.६० प्रतिशतले कमी आएको छ।
राजस्व र मुनाफामा प्रभाव पर्नुको मुख्य कारण भाइबर, ह्वाट्सएप जस्ता ओटीटी सेवाहरूको बढ्दो प्रयोग रहेको नेपाल टेलिकमले जनाएको छ। यी सेवाका कारण अन्तर्राष्ट्रिय आगमन कल र कम्पनीको समग्र भ्वाइस तथा एसएमएस सेवाको आयमा नकारात्मक असर परेको छ।
विशेष गरी अन्तरआबद्धता आयमा मात्रै ६.१४ प्रतिशतले कमी आएको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा रहेको लगानीको ब्याजदर घट्दा ब्याज आम्दानीमा ३२ प्रतिशत अर्थात् करिब ७४ करोड ६३ लाख रुपैयाँले गिरावट आएको छ।
यसका साथै, कर्मचारी खर्चमा भएको ११.५ प्रतिशतको वृद्धिले पनि मुनाफामा चाप पारेको छ। कर्मचारीको सामूहिक बीमाको प्रिमियम वृद्धि हुनु र पेन्सन तथा उपदान कोषको दायित्व हिसाब गर्दा प्रयोग गरिने 'डिस्काउन्ट रेट' परिवर्तन भएका कारण खर्च बढ्न पुगेको हो।
सेवाको दररेट निर्धारण सम्बन्धी नीतिगत परिवर्तन र विकट क्षेत्रमा सेवा विस्तार गर्दा लाग्ने उच्च लागतले गर्दा पनि आम्दानी सोचे अनुरूप बढ्न नसकेको कम्पनीको भनाइ छ।
वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिक) ४६ रुपैयाँ २७ पैसा रहेको छ। अन्य वित्तीय सूचकहरूमा जिन्सी मौज्दातमा गरिएको खर्च व्यवस्था १८ करोड ३५ लाखले बढेको छ भने वैदेशिक मुद्रा सटही दरमा भएको परिवर्तनले सटही नाफामा भने १५० प्रतिशतको वृद्धि भएको छ। गत वर्षको तुलनामा चालू करको दायित्व ५५.५६ प्रतिशतले बढ्नुले पनि खुद मुनाफा घटाउन भूमिका खेलेको नेपाल टेलिकमले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ माघ २०८२, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त
नेपाल टेलिकमद्वारा ३० प्रतिशत लाभांशको घोषणा
नेपाल टेलिकमको आय र मुनाफा दुवै घट्यो
नेपाल टेलिकमको बिलिङमा समस्या
संविधान दिवसका अवसरमा नेपाल टेलिकमले यस्तो ल्यायो ‘अफर’
नेपाल टेलिकमको सीआरबीटी सेवा बन्द