प्रधानमन्त्री ओलीले भारतीय राजदुत भेट्न किन पठाए गोकुल बाँस्कोटा ?

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा ओलीका ‘दुत’ का रुपमा भारतीय पक्षसँगको गोप्य सम्वादमा छन्,त्यही क्रममा उनले भारतीय राजदुतसँग वार्ता गरिरहेका छन्

सफल खबर संवाददाता

मंगलबार, २० जेठ २०७७, १० : ०१
प्रधानमन्त्री ओलीले भारतीय राजदुत भेट्न किन पठाए गोकुल बाँस्कोटा ?

काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुराको सिमा विवादले अहिले नेपाल –भारतका बीचमा तिक्तता दिनप्रतिदिन बढ्दो छ । भारतले गत कात्तिक १६ मा नेपालको कालापानी क्षेत्रको भूमि समेटेर नक्सा जारी गरेयता दुई देशबीच सम्वन्ध बिग्रदै गएको छ । नेपालले कुटनीतिक तथा राजनीतिक तहमै वार्ताका लागि दुई–दुई पटक सम्म वार्ताका लागि मिति सहित प्रस्ताव ग¥यो ।

तर भारतले नेपालको त्यस्तो प्रस्तावलाई स्वीकार गरेन् । नेपालले तेश्रो पटक फेरि भारतलाई उसैले तय गर्ने मितिमा आफुहरु वार्तामा बस्न तयार रहेको सन्देश पनि पठायो । यसलाई पनि भारतीय पक्षले सुन्नै चाहेन । बरु उल्टै उसले लिपुलेक हुदै मानसरोवर जानका लागि नेपाली पक्षलाई कुनै जानकारी नै नदिई एकतर्फी सडक निर्माण गर्ने र कोरोना त्रासमा रहेका बेला भर्चुअल बैठकवाटै भारतीय रक्षामन्त्री राजनाथ सिंहले सडक उद्घाटन गरे ।

चुपचाप वार्तामै जोड गरिरहेको नेपाललाई त्यसपछि एक्सनमा जानु बाध्यता थियो । आफना् भूमिमा वर्षौ देखि सेना तैनाथी गरेर राख्ने र पछिल्ला ६ महिनायता थप हस्तक्षेपको श्रृंखला बढाउदै लगेपछि नेपालले पनि आफनो तर्फबाट राजनीतिक तथा प्रशासनिक नक्सा सच्याउने देखि संविधानको निशान छापमा समेत नक्सा अध्यावधिक गर्ने गरी संविधान संसोधन विधेयक दर्ता गरायो । यस पछि भने दुई देशबीच सम्वादहिनता बढेको छ ।

कोरोनाको कारण देखाउदै वार्तामा बस्न अस्वीकार गर्ने तर यही बीचमा नेपालको भूमिमाथी एक पछि अर्काे धावा बोल्दै जाने भारतीय मिचाहा प्रवृतिका कारण दुई देशका बीचको ‘रोटी बेटीको सम्बन्ध’मा अहिले चिसोपना देखिएको छ । नेपालले उच्चस्तरीय राजनीतिक र कुटनीतिक तहमा वार्ताकै लागि अहिले पनि औपचारिक÷अनौपचारिक छलफल र प्रयास जारी राखेको छ । तर भारतीय पक्ष अझै तयार देखिएको छैन् । नेपालको नक्सा जारी पछि भने विश्वासको वातावरणको तर्क उसले अगाडी सार्न थालेको छ । 

यही क्रममा प्रधानमन्त्री केपी ओलीले देशभित्र आफु निकट नेताहरु र भारतमा भाजपाका नेता देखि केही उद्योगी-ब्यवसायीसम्मलाई परिचालन गरेर आपसी सम्वादको वातावरण बनाउन प्रयास गरिरहेको बालुवाटार स्रोतले बतायो । ६ जेठमै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्न चाहेका थिए । त्यसका लागि समय पनि तय भएको थियो । तर अन्तिम समयमा भारतीय प्रधानमन्त्री मोदीले वार्ता गर्न चाहेनन् । दिल्लीबाट विदेश सचिवसँग अहिलेलाई कुरा राख्नु, अहिले प्रधानमन्त्रीको ब्यस्तता रह्यो भन्दै वार्तामा बस्न अस्वीकार गरिएको सन्देश आयो ।

त्यसपछि प्रधानमन्त्री ओलीले पनि मोदीसँगै तय भएको वार्तामा विदेश सचिवसँग वार्तामा बस्न चाहेनन् । ओलीको यो कदम सही थियो पनि । दिल्लीस्थित नेपाली राजदुत निलाम्वर आचार्यले भेट्न खोज्दा समेत भेट्न नमानिरहेका विदेश मन्त्रालयका अधिकारीहरु नेपालसँगको सम्वादका विषयमा कुनै औपचारिक रुपमा मुख खोल्न चाहिरहेका छैनन् । ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा नेपालस्थित भारतीय राजदुत विनयमोहन क्वात्रासँग सरकारले नक्सा जारी गरेपछि एकपटक बोलाएर छलफल गरेका थिए ।

त्यसपछि पनि वार्ता र सम्वादको वातावरण बनाउन उनले आफ्नै क्याविनेटमा सञ्चारमन्त्री रहेका पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अहिले भारतीय पक्षसँग छलफलका लागि परिचालन गरिरहेका छन् । त्यहीक्रममा बाँस्कोटाले नेपालस्थित भारतीय राजदुत क्वात्रासँग प्रधानमन्त्री ओलीका ‘दुत’का रुपमा भेटवार्ता गरेका छन् । यसैसाता बाँस्कोटाले राजदुत क्वात्रासँग गोप्य भेट गरी प्रधानमन्त्री ओलीका दुतका रुपमा दुई देश बीचको कुटनीतिक तथा राजनीतिक सम्वादको वातावरण निर्माणको प्रयास गरेको बालुवाटार स्रोतले सफलखबरलाई बतायो ।

बाँस्कोटाले राजदुत क्वात्रासँग भेट गरी गरेको कुराकानी उनले प्रधानमन्त्री ओलीसँग पनि भेट गरेर जानकारी गराईसकेका छन् । यस अगाडी पनि विशेष दुतका रुपमा सिमा विवाद हल गर्नका लागि प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधव नेपाललाई दिल्ली पठाउन खोजेका थिए । तर त्यो प्रयासमा दिल्ली सकारात्मक जवाफ नभएएपछि त्यक्तिकै थन्किएको थियो । तर ओलीले अहिले भने आफु निकट नेताबाटै सम्वादको वातावरण निर्माणका लागि भित्री प्रयास गरेको बालुवाटार स्रोतले बतायो । त्यसका लागि बाँस्कोटालाई छानेर ओलीले अहिले परिचालन गरिरहेका हुन् । बाँस्कोटाले भारतीय राजदुत क्वात्रालाई नेपालको सीमानाका विषयमा अवगत गराएका थिए ।

बाँस्कोटासँगको भेटमा भारतीय राजदूतले वार्ताका लागि सकारात्मक वातावरण निर्माण गर्नु पर्ने, कुन तहमा द्धिपक्षिय वार्ता गर्ने र वार्तामा नेपालले तेस्रो पक्षलाई वार्ता वा मध्यस्थताका लागि आमन्त्रित गर्ने कि नगर्ने सहितका विषयमा चासो राखेका थिए । राजदुत क्वात्रा र ओलीका दुतका रुपमा परिचालित भएका बाँस्कोटाका बिचमा यस विषयमा पुनः आ–आफनो पक्षका नेताहरुसँग छलफल गरेर योजनाबद्ध वार्ताको विस्तृत विवरणमा समझदारीका साथ छलफल भएको बालुवाटार स्रोतले बतायो ।

नेपालले संविधानमा नक्सा समेटेर गएपछि भारतले यसले विश्वासको वातावरण निर्माणमा अवरोध पु¥याएको सन्देश बालुवाटार पठाईरहेको छ । बालुवाटारले पनि भारतले एकतर्फी कदम अगाडी बढाएपछि नेपाल बाध्य भएको प्रतिक्रिया दिएको स्रोत बताँउछ । संधिवान संसोधन पछि नेपाल र भारतका बीचको सम्वाद अझै टाढिने र दुई देशका बीचमा अझै चिसोपना आउन सक्ने पनि कुटनीतिक जानकारहरुले बताईरहेका छन् । यसका लागि ओलीले देशभित्रैबाट गोप्य रुपमा भारतीय पक्षसँगको सम्वादमा परिचालन गरेका बाँस्कोटा कति सफल हुन्छन् ? त्यो भने हेर्ने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस