सरकारी विद्यालय उकास्न निजीको सहयोग : अर्थमन्त्री खतिवडा

सफल खबर संवाददाता

सोमबार, १९ जेठ २०७७, १५ : ४७
सरकारी विद्यालय उकास्न निजीको सहयोग : अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले सरकारी विद्यालय उकास्न निजी विद्यालयको सहयोग आवश्यक भएको बताएका छन् । उनले पूर्वाधार निर्माणमा संस्थागत निजी विद्यालयको सहयोग लिन लागिएको बताएका छन्।

सरकारी विद्यालय सुधारको जिम्मा निजी क्षेत्रलाई दिने कार्यक्रम बजेटमा समावेश भएकोमा विभागीय मन्त्रीदेखि सांसदहरूले प्रश्न उठाएपछि मन्त्री खतिवडाले निजीका सञ्चालकले दिने सहयोग लिन लागिएको प्रष्टाए।

सोमबार प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नबारे जवाफ दिने क्रममा मन्त्री खतिवडाले निजी विद्यालयका सञ्चालकहरूले सामाजिक उत्तरदायित्वको रकम सहयोग गर्न चाहेकोले बजेटमा त्यो व्यवस्था राखिएको उल्लेख गरे।

‘निजी विद्यालयका सञ्चालकहरूले हाम्रो सामाजिक उत्तरदायित्वभित्र आउने केही स्रोतबाट सरकारलाई सहयोग गर्छौं। कुनै विद्यालय दिनुस् भनेर सहयोग गर्न खोजेको हो,’ उनले भने, ‘सरकारी विद्यालय निजीलाई हस्तान्तरण गर्न खोजेकै होइन, यसमा प्रष्ट हुनुपर्‍यो।’

संस्थागत विद्यालयका सञ्चालकहरूले एक प्रतिशत रकम अन्यत्रै खर्च गर्दै आएकोमा त्यो रकम सरकारी विद्यालयका पूर्वाधारमा लगाउन खोजिएको उनले बताए।

‘निजी विद्यालय सञ्चालकलाई तपाईंहरूको पैसा चल्दै चल्दैन भन्न पर्थ्यो ?,’ उनले प्रश्न गरे, ‘निजी क्षेत्रसँग सहकार्य गर्न हुन्न भन्ने छैन।’

प्रतिक्रिया दिनुहोस