बजेट परिणाममुखीभन्दा प्रचारमुखी : काँग्रेस

रासस

शुक्रबार, १६ जेठ २०७७, २१ : २२
बजेट परिणाममुखीभन्दा प्रचारमुखी : काँग्रेस

फाईल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेपाल सरकारद्वारा आर्थिक वर्ष २०७७÷७८ को लागि प्रस्तुत बजेट परिणाममुखीभन्दा प्रचारमुखी रहेको भनी टिप्पणी गरेको छ । बजेटमा जनतालाई आश्वासन दिने तर कार्यान्वयन नहुने खालका कार्यक्रमलाई जोड दिइएको काँग्रेसको भनाइ छ ।

काँग्रेस संसदीय दलको आज बसेको बैठकले लकडाउनका कारण सम्पूर्ण उद्योग, कलकारखाना, पर्यटन, शैक्षिक संस्था, बैंक वित्तियलगायत क्षेत्र ठप्प भएको अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई माथि उठाउने र तत्काल कार्यान्वयन हुने खालका कार्यक्रमहरुलाई बजेटमा प्राथमिकता नदिएको निष्कर्ष निकालेको छ । कोरोना भाइरस महामारीको प्रकोपबाट पीडित निजी क्षेत्रका उद्योग व्यवसायका साथै त्यसका कर्मचारी र श्रमिक वर्गहरुलाई सम्बोधन हुने ठोस कार्ययोजनालाई बजेटले सम्बोधन नगरेको काँग्रेसको आरोप लगाएको छ । 

बैठकले कोरोनाको प्रभावबाट भविष्यमा हुने रोजगारीको सङ्कटलाई सामना गर्न सरकारले उपयुक्त र पर्याप्त रोजगारी सिर्जना गरी आर्थिक क्रियाकलापलाई गतिशील बनाउने योजनालाई बजेटले प्राथमिकतामा नराखेको भनी टिप्पणी गरेको छ । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले अहिलेको विषम र असामान्य अवस्थामा पनि सरकारले विगतमा झै सामान्य बजेट ल्याएको बताउँदै राजश्वको सङ्कुचन भइरहेको र भविष्यमा अझै भइरहने अवस्थामा सरकारले ठूलो विदेशी र आन्तरिक ऋणको आधारमा बनाएको बजेट कार्यान्वयन गर्न कठिन हुने बताउनुभयो ।
 
काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा विज्ञका रुपमा पूर्वअर्थमन्त्री डा रामशरण महत, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा जगदिशचन्द्र पोखरेल, डा गोविन्दराज पोखरेल र डा स्वर्णीम वाग्ले तथा अर्थविद् डा विश्व पौडेलले बजेटका विविध पक्षको समीक्षा गर्दै कमी, कमजोरी बारेमा जानकारी गराउनुभएको थियो । 

बैठकले यही जेठ ९ गते काँग्रेस नेता एवं पूर्वमन्त्री मोहमद अफ्ताब आलमको रौतहटस्थित निवासमा मध्यरातमा ५० भन्दा बढी व्यक्ति हातहतियारसहित गई तोडफोड गरी आङ्तक सिर्जना गरेको भन्दै भत्र्सना गरेको छ । उक्त घटनामा संलग्न व्यक्तिले एम्बुलेन्ससमेत लिएर गएको हुँदा हिंसाको योजनासहित गएको हुनुपर्ने बैठकको ठहर छ । घटनामा संलग्न व्यक्ति को थिए, प्रहरी स्वयं सादा पोशाकमा थिए वा डाका गुण्डाहरु थिए भन्ने हालसम्म प्रहरी प्रशासनले बताउन नसकेको काँग्रेसले जनाएको छ । उक्त घटनाको तत्काल छानविन गरी दोषी उपर कारवाहीका लागि सरकार तथा सम्बन्धित निकायसँग बैठकले माग गरेको प्रमुख सचेतक खाँणले बताउनुभयो  ।

यसैगरी गत जेठ १० गते रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोतीमा पाँच जनाको मृत्यु, एक जना हालसम्म पनि वेपत्ता र पाँच जना गम्भीर घाइते हुने गरी भएको हिंसात्मक घटनाप्रति बैठकले दुःख व्यक्त गरेको छ । घटनाको काँग्रेसले निन्दा एवं भत्र्सना गर्दै उक्त घटनाको सत्यतथ्य एवं न्यायपूर्ण छानबिन गर्न सरकारसँग माग गरेको छ । बेैठकले उक्त घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घटनामा घाइते हुने सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस