गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए

रासस

सोमबार, १२ जेठ २०७७, २१ : ५९
गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए

फाईल फोटो

काठमाडौं । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र आज दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकले गड्डा चौकी नाकाबाट सुरक्षा सर्तकता अपनाएर नेपालीलाई भित्रिन दिने निर्णय गरेको थियो ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बेलुकीसम्म नेपालीहरु फर्किने क्रम जारी रहेको बताउनुभयो । “भारतबाट आउने सबैको तापक्रम मापनलगायत स्वास्थ्य परीक्षण गर्दा सबैको अवस्था सामान्य देखियो ।” सहायक प्रजिअ उपाध्यायले भन्नुभयो, “एक हजार पाँच सयभन्दा बढी नागरिक सम्बन्धित पालिकातर्फ हिडिसकेका छन् । दिउँसो १२ बजेदेखि खोलिएको गड्डाचौकी नाका राति भएपछि आवागमन बन्द गरिएको छ ।”

प्रशासनले भोलिदेखि भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म भारतबाट अलपत्र परेका र समस्यामा रहेका नेपालीलाई आउन दिने जनाएको छ । भारतीय सुरक्षाकर्मीहरु नेपाल–भारत सीमा क्षेत्रसम्म नेपालीलाई पु¥याएका थिए । उनीहरुको गड्डाचौकी नाकामा नेपाली सेना र जनस्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेपछि थप व्यवस्थापनका लागि भन्सार कार्यालय परिसरमा राखिएको थियो । भन्सार परिसरमा भोकै बसेका नागरिकलाई कञ्चनपुरका युवा व्यापारी तथा व्यवसायीहरुले खाना र पानीको प्रबन्ध मिलाएका थिए । 

नेपाली सेनाको सीमा नाकामा सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकले खाना र पानी वितरण गरेको थियो । “सीमामा केही समययता नेपाली भोकै बसेको पनि सुनियो ।” यहाँका युवा व्यापारी दिनेश मल्लले भन्नुभयो, “साथीहरुको समन्वय र सहयोगी भावले नै आज अलपत्र नेपालीहरुको भोक र प्यास मेटाउन सक्यौँ ।”

युवा व्यापारी तथा व्यवसायीका साथै केही सञ्चारकर्मीहरुको पहलमा नाकाबाट भित्रिएका दुई हजार जनालाई खाना खुवाइएको थियो । त्यसैगरी कञ्चनपुर प्रशासनले नाकामा भित्रिने व्यक्तिहरुको विवरण सङ्कलन गरिरहेको छ ।

भित्रिएका नेपालीलाई सम्बन्धित स्थानीय तहमा पठाउन लागिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिनुभयो । “कालिकोटलगायतका केही जिल्लाका नागरिकलाई पठाइसकेका छौँ ।” उहाँले भन्नुभयो, “अरुलाई पनि गन्तव्यमा पठाउन यातायातको व्यवस्था गरिएको छ ।”

उता गड्डा चौकी नाका खुलेसँगै सीमावर्ती भारतीय बजारमा नेपाली आउने क्रम बढेको छ । कञ्चनपुरको ब्रह्मदेव, दोधारा चादँनीलगायतका सीमानाका छलेर नेपालीहरु भारतबाट आउने क्रम बढेपछि स्थानीय प्रशासनले गड्डा चौकी नाकाबाट आवागमन सुचारु गरेको हो । 

प्रतिक्रिया दिनुहोस