कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

सफल खबर संवाददाता

शुक्रबार, २९ फागुन २०८२, ०६ : ५८
कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्र सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ ।

कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत सुरु गरिएको (बेनी–जोमसोम) ७४ किलोमिटर सडकको चौथो खण्ड निर्माण कम्पनीको पटकपटकको ढिलासुस्ती र बेवास्ताका कारण सडक स्तरोन्नतिको काम अलपत्र पर्दै आइरहेको हो ।

बेनी-जोमसोम सडकअन्तर्गत दोस्रो र तेस्रो खण्ड निर्माण सम्पन्न भइसकेर आयोजनालाई हस्तान्तरण भइसकेको छ । तर यहाँको कोरलानाका जोड्ने कोवाङ–जोमसोम सडकको ८५ प्रतिशत भौतिक प्रगति भइसक्दा निर्माण कम्पनीले सडक स्तरोन्नति काम अलपत्र पारेको आयोजनाले जनाएको छ ।

त्रिदेशीय व्यापारिक मार्गका रूपमा विस्तार गर्ने उद्देश्यले तत्कालीन सरकारले नेपाल–चीन कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक आव २०७३-७४ देखि सुरु गरेको थियो । सोहीअनुसार कोवाङ–जोमसोम १७ किमी चौथो खण्ड रु ७० करोड लागतमा आयोजनासँग ठेक्का सम्झौता भई काम अघि बढाइएको थियो ।

यहाँस्थित निर्माणाधीन कोवाङ–जोमसोम अस्फाल्ट कालोपत्र सडक स्तरोन्नतिका लागि पप्पु गौरी पार्वती, कोशी एन्ड न्यौपाने जेभीले ठेक्का सम्झौता गरेको थियो । नालीसहित ११ मिटर चौडा सडकमा कालोपत्र गर्ने भनिए पनि ठेक्का सम्झौता भएको आठ वर्ष बितिसक्दासमेत निर्माण कम्पनीले स्तरोन्नति काम सम्पन्न गर्न सकेको छैन ।

ठेक्का सम्झौता हुँदाको सुरुआती अवस्थामा जोइन पार्टनर कोशी एन्ड न्यौपानेले कोवाङ–जोमसोम सडक निर्माणको जिम्मा लिएको भए पनि उसले कामलाई गति दिन नसकेपछि जेभीको जोइन मुख्य पार्टनर पप्पु गौरी पार्वती सडक निर्माण सम्पन्न गर्न काममा फर्किएको थियो । 

कोवाङ–जोमसोम सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएदेखि हालसम्म खन्ती–टुकुचेस्थित थापाखोलासम्म, टुकुचे सिरान टोलीदेखि मार्फासम्म सडक स्तरोन्नति तथा कालोपत्र कार्य सकिएको आयोजनाले जनाएको छ । त्यसैगरी, मुस्ताङको स्याङगाउँ पुछारदेखि पुथाङ एयरपोर्टसम्म कालोपत्र तथा पिसीसी ढलानसहितको काम सकिएको छ । 

प्रतिक्रिया दिनुहोस