काठमाडौँको नयाँ सहरको डिपिआर तयार

सोमबार, १२ जेठ २०७७, १३ : ३७
काठमाडौँको नयाँ सहरको डिपिआर तयार

काठमाडौं । काठमाडौं उपत्यकाभित्र निर्माण गर्न लागिएका चार वटा नयाँ सहरको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिले चार वटा नयाँ सहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार भएको बताएको छ।

समितिको आइतबार बसेको १३ औं बैठकले दुई वटा नयाँ सहर (काठमाडौं नैऋत्य र काठमाडौं हरित) को डिपिआर स्वीकृत गरेको छ। बाँकी दुई वटा सहर (काठमाडौं इसान र काठमाडौं आग्नेय) को यही जेठ २५ गते बस्ने १४ औं बैठकले स्वीकृत गर्ने प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए।

समितिको जेठ २५ गतेको बैठकले डिपिआर स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद बैठकमा पेस हुनेछ र मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा जानेछ। काठमाडौं उपत्यका भित्र चार वटा आधुनिक नयाँ सहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ। न्यूनतम ८ आनाको कित्ताकाट गरी खरिद(बिक्री गर्न सकिनेछ भने सोभन्दा कमको कित्ताकाट गर्न पाइने छैन।

चार वटा आयोजनामध्ये १ लाख रोपनी क्षेत्रफल भएको काठमाडौं ईसानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न १२ करोड रुपैयाँ विनियोजन भएकोमा भ्याट बाहेक सात करोड रुपैयाँ र बाँकी तीन वटा परियोजनाको अध्ययनका लागि दुईरदुई करोड रुपैयाँ विनियोजन गरेकोमा भ्याट बाहेक १ करोड ४० लाख रुपैयाँ खर्च भएको तिवारीले बताए।

एक लाख रोपनी क्षेत्रफल रहेको काठमाडौं ईसान पूर्व–उत्तर को डिपिआर निर्माण फिनल्याण्डको हेलेन एण्ड कम्पनी कम्पनी र जेके एसोसिएट्सले गरेको छ। अन्य तीन वटा आयोजनाको डिपिआर निर्माण भने नेपाली कम्पनीले नै गरेका हुन्।

चार वटा परियोजनामा काठमाडौं ईसान पूर्व–उत्तर, काठमाडौं आग्नेय पूर्व–दक्षिण, काठमाडौं नैऋत्य दक्षिण–पश्चिम र काठमाडौं हरित सहर उत्तर छन्। जसमध्ये काठमाडौं ईसानको क्षेत्रफल १ लाख रोपनी छ भने अन्यको १० हजार रोपनी छ।

परियोजनामा काठमाडौं ईसान पूर्व–उत्तर नयाँ सहर विस्तार क्षेत्र जसको कुल क्षेत्रफल १ लाख रोपनी क्षेत्रफल छ। यो परियोनामा पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटार हुँदै मनोहर पुल भक्तपुर जाने पुरानो बाटोसम्म, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडक र दक्षिण तर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटी लगायतको ठाउँसम्म छ।

काठमाडौं आग्नेयको कुल क्षेत्रफल १० हजार रोपनी छ। यो आयोजनामा पूर्वतर्फ अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक वनलाई बाहिर पार्दै जानेछ। पश्चिम तर्फ खहरेखोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, अमरनगर लगायतका ठाउँ छन्। उत्तर तर्फ अरनिको राजमार्गको सिमाना छ भने दक्षिणमा भक्तपुरको रानीकोट जंगलको छेउसम्म छ।

काठमाडौं नैऋत्यको कुल क्षेत्रफल पनि १० हजार रोपनी छ। यसको पूर्वमा छ्यासीकोट देखि फर्सिडोल, बागमती नदीको झोलुंगे पुलसम्म, पश्चिममा बागमती नदी, उत्तरमा साविकको सैंवु गाविसको सिमाना, दक्षिणमा बागमती नदीसम्मको क्षेत्र छ।

काठमाडौं उत्तरको कुल क्षेत्रफल पनि १० हजार रोपनी छ। यो योजनाको पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याड जोकदेखि मनोरथ हुँदै महादेव खोलासम्मको क्षेत्र समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस