लुकिछिपी संक्रमितहरू काठमाडौं उपत्यका भित्रिदै

पत्रपत्रिकाबाट

शुक्रबार, ०९ जेठ २०७७, ०६ : ५१
लुकिछिपी संक्रमितहरू काठमाडौं उपत्यका भित्रिदै

फाईल फोटो

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि लुकिछिपी संक्रमितहरू उपत्यका भित्रिएका छन्। यसरी आएका संक्रमितमध्ये २४ जनाभन्दा बढी आइसोलेसनमा उपचाररत छन्।

उपत्यका बाहिर ठेगाना बताएका ती संक्रमितहरू काठमाडौं भक्तपुर र ललितपुरमा डेरामा बसेको पाइएको छ। को व्यक्तिबाट काठमाडौंमा कसरी संक्रमण फैलिरहेको छ भन्ने यकिन गर्न नै कठिन भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का उच्च अधिकारीले बताए। १ जेठदेखि नै उपत्यकामा बस्नेमा संक्रमण बढी देखा पर्न थालेको हो।

ठेगाना बाहिर, बस्ने उपत्यका
६ जेठमा स्वास्थ्य मन्त्रालयले ललितपुर ठेगाना दिएर एकजनालाई संक्रमण भएको अपुरो जानकारी दियो। ती व्यक्ति स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत थिए। उनको घर उपत्यका बाहिर भए पनि मन्त्रालयले ललितपुर ठेगाना भएको बतायो। उनको स्थायी ठेगाना पहाडी जिल्ला हो।

६ जेठमा नयाँ संक्रमित थपिएको जानकारी दिँदै लमजुङ ठेगाना भएका व्यक्ति उल्लेख गरियो। उनी पनि काठमाडौंमा बस्दै आएको पाइएको छ। १ जेठमा संक्रमित भएको पुष्टि भएका दुई बालबालिका पनि उपत्यकाबाहिर घर भए पनि काठमाडौं आएको बेला पुष्टि भएको छ।

यसअघि ३१ वैशाखमा संक्रमितको रूपमा मन्त्रालयले सुनसरी ठेगाना बताएको महिला भक्तपुरमा डेरा लिएर बसेको पाइएको छ। ३१ वैशाखमा नै काठमाडौं बाहिर भनिएका पुरुष पनि भक्तपुर, दुवाकोटमा बस्ने गरेको पाइएको छ। वैशाख ३० गते घाँटीको समस्या लिएर आएकी एक बालिका पनि कपिलवस्तुकी थिइन्। वैशाख २९ गते नवलपरासीबाट काठमाडौंबाट आएकी एक महिलाको कोरोना भाइरस पोजेटिभ भेटिएको छ। उनी कलंकी डेरा लिएर बसेको पाइएको छ।

मन्त्रालयले पछिल्लो पटक रामेछाप, सिन्धुली, दाङका बासिन्दा भनिएका व्यक्ति पनि काठमाडौं उपत्यकामा बस्ने गरेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जनाएका छन्। मन्त्रालयका एक उच्च पदाधिकारी भन्छन्, ‘पीसीआर परीक्षणका बेला स्थायी ठेगाना मात्र दिएपछि समस्या पर्न थालेको हो। उनीहरूको बसोबास काठमाडौं हुँदा हामीलाई समेत अप्ठेरो परिरहेको छ। तथ्य लुकाउने मनसाय होइन।’ अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस