‘२४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैलाई कोरोना संक्रमण’

सफल खबर संवाददाता

विहीबार, ०८ जेठ २०७७, ०९ : ३४
‘२४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरैलाई कोरोना संक्रमण’

काठमाडौं । विश्वब्यापी महामारीको रुप धारण गर्दै गइरहेको कोभिड १९ (कोरोना भाइरस) नियन्त्रण हुने भन्दा झन बिस्तार हुने क्रममा छ ।  विश्वमा फैलदै गएको यो भाइरसको अन्त्य कहिले र कुन रुपमा होला कसैले भन्न सकिरहेका छैनन ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार, विगत २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित देखा परेका छन् । उसले संक्रमित झन झन बढेकोले नियन्त्रण तर्फ नरहेको र महामारीकै रुप लिईरहेको प्रतिक्रिया दिएको छ । विगत २४ घण्टामा विश्वभर १ लाख ६ हजार भन्दा बढी मानिसहरु कोरोना संक्रमित भएको डब्लुएचओले तथ्याक सार्वजनिक गरेको छ । 

डब्लूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भने, –‘पछिल्लो २४ घण्टामा डब्लूएचओलाई प्राप्त तथ्यांक अनुसार विश्वमा १ लाख ६ हजार नयाँ केस थपिएका छन्, यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो, झण्डै दुईतिहाइ केस त मात्रै चार देशका हुन् ।’ 

अहिलेसम्म कोरोनाका कारण विश्वमा संक्रमित हुनेको संख्या ५० लाख ८५ हजार ५ सय पुगिसकेको छ । जसमध्ये ३ लाख २९ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ ।  २० लाख २१ हजार ६ सय ६६ जना भने निको भएका छन् ।  नेपालमा पनि अहिलेसम्म ४४४ जना संक्रमित भईसकेका छन् । २ जनाको निधन भईसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस