काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सल्यानमा कार्यरत एक कर्मचारीलाई ठगी तथा विद्युतीय कारोबारसम्बन्धी कसुरको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
मुद्दा शाखामा कार्यरत सुब्बा निरज परियारलाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। पक्राउपछि मंगलबार अदालतमा उपस्थित गराइएकोमा अदालतबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ।
प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाका अनुसार सम्बन्धित कर्मचारीविरुद्ध सेवाग्राहीलाई अनावश्यक हैरानी दिएको, मुद्दा मिलाइदिने बहानामा आर्थिक लेनदेनका लागि दबाब सिर्जना गरेको तथा नक्कली संवाद (फेक च्याट) तयार गरेको आरोपसहित उजुरी प्राप्त भएको थियो। सोही आधारमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
प्रहरीका अनुसार हाल उनीमाथि ठगी र साइबर अपराधसम्बन्धी प्रावधान अन्तर्गत आवश्यक अनुसन्धान कार्य भइरहेको छ। सम्बन्धित घटनाको सत्य तथ्य पुष्टि गर्न कानुनी प्रक्रिया अनुरूप थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०८२, १२ : ३५
लेखकबाट थप