धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

रासस

बुधबार, २५ चैत्र २०८२, ११ : ५२
धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य बन्दै गएको छ ।

 कावासोती–१, हात्तीखोरमा अवस्थित महाराजा थान मन्दिर सेनकालीन समयमा स्थापना भएको मान्यता रहिआएको छ ।

तत्कालीन पाल्पाका राजा मणिमुकुन्द सेनले मन्दिर स्थापना गरेको स्थानीय अग्रज बताउँछन् । राजा मणिमुकुन्द सेनले आफ्ना राज्यको सीमा सुरक्षार्थ शक्तिपीठका रूपमा यस मन्दिर स्थापना गरी पूजा गरेको किंवदन्ती रहेको महाराजा मन्दिर धार्मिक सेवा समितिका अध्यक्ष चेतबहादुर थापाले बताए।

कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ अवस्थित यस मन्दिरमा दिनहुँजसो नवलपुरसहित देशका विभिन्न जिल्लाबाट श्रद्धालुहरू पुग्ने गर्दछन् । महाराजा थान मन्दिर आज धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । यहाँ पूजा गरी भाकल गरे मनोकामना पूरा हुने जनविश्वासका कारण श्रद्धालुहरू मन्दिरमा आउने गरेका समितिका अध्यक्ष थापाले बताए । “यहाँका समुदायले अनुकूल वा प्रतिकूल जुनसुकै अवस्था आउँदा पनि यहाँ पूजा गर्ने गर्छन्”, अध्यक्ष थापाले बताए।

प्रतिक्रिया दिनुहोस