राहत माग्न आउने श्रमिकलाई गाउँपालिकाले दिन थाल्यो रोजगारी

आइतबार, ०४ जेठ २०७७, ११ : १९
राहत माग्न आउने श्रमिकलाई गाउँपालिकाले दिन थाल्यो रोजगारी

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले राहत माग्न आउने श्रमिक वर्गलाई रोजगारी दिन शुरु गरेको छ । बन्दाबन्दीका बेला समस्या परेका मजदुरलाई दैनिक गुजारा चलाउन समस्या नहोस् भन्ने उद्देश्यले श्रमिकलाई विभिन्न खालका विकास निर्माणका काम गर्ने गरी रोजगारी दिन शुरु गरेको गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले बताउनुभयो ।

बन्दाबन्दीका बेला रोजगारी गुमाउँदा दैनिक गुजारा चलाउन समस्या परेको भन्दै राहत माग्न आउनेलाई गाउँपालिकाले रोजगारी दिन शुरु गरेको उहाँको भनाइ छ । “बन्दाबन्दीका बेला काम खोसिएका श्रमिकलाई पहिलो चरणमा गाउँपालिकाले पर्यटन पदमार्ग निर्माणको काम दिएको छ”, उहाँले भन्नुभयो, “त्यो काम सकिएपछि अर्को ठाउँमा विकास निर्माणकै काम उहाँहरुलाई परिचालन गर्ने तयारी गाउँपालिकाले गरेको छ ।” बन्दाबन्दीले समस्यामा परेका श्रमिक, विपन्न, व्यक्तिलाई पहिलो चरणमा राहतस्वरुप गाउँपालिकाले खाद्यान्य वितरण गरेको भए पनि अब श्रममा आधारित राहतलाई प्राथामिकता दिइने अध्यक्ष धितालले बताउनुभयो ।

श्रमिकलाई रोजगारी दिनका लागि गाउँपालिकाले नागेपोखरी जाने पर्यटन पदमार्गका लागि बजेट विनियोजन गरी काम शुरु गरेको उहाँले जानकारी दिनुभयो । “नागेपोखरी, निम्चेपोखरीसम्म जाने पर्यटन पदमार्गका लागि गाउँपालिकाले रु ७० लाख विनियोजन गरेको छ”, गाउँपालिका अध्यक्ष धितालले भन्नुभयो, “यो बजेटबाट पदमार्ग बनाउँदा गाउँका असङ्गठित क्षेत्रका श्रमिकले रोजगार पनि पाउने छन् र पदमार्ग पनि निर्माण हुनेछ ।”

उहाँले निर्माणमा खटिएका श्रमिकलाई जिल्लामा निर्धारित दरभाउअनुसार दैनिक ज्याला निर्धारण गरेको बताउनुभयो । “अदक्ष जनशक्तिलाई आठ घण्टाको रु ७६० का दरले ज्याला दिने निर्णय गरी श्रमिकलाई काममा परिचालन गरेका छौँ”, उहाँले भन्नुभयो, “बन्दाबन्दीको अवधिमा पनि यसले विकास निर्माणको कामलाई अघि बढाउन सजिलो  भएको छ ।” काम गर्दा उनीहरुलाई सामाजिक दूरी कायम गर्न भनिएको अध्यक्ष धितालले जानकारी दिनुभयो ।

  उक्त पदमार्ग निर्माणका लागि अघिल्लो वर्ष खर्च गर्न नसकेको बजेट यो वर्ष भने श्रमिकको अभाव नभएपछि सजिलो भएको बताउनुभयो । “उहाँहरुलाई रोजगारी चाहिएको छ, गाउँपालिकालाई विकास निर्माणको काम गर्न श्रमिक चाहिएको छ”, अध्यक्ष धितालले भन्नुभयो, “यसले दुवै पक्षको आवश्यकता पनि पूरा गर्ने र विकास निर्माणको काम पनि हुने हुँदा अहिले समय पनि महत्वपूर्ण भएको छ ।”

गाउँपालिकाले पहिलो चरणमा ५० जनालाई रोजगारी दिएको उहाँको भनाइ छ । उक्त पदमार्ग करिब २० किलोमिटर लामो रहेको छ । पदमार्ग निर्माणका लागि निश्चित दूरी कायम गरिएको छ । एउटा समूहमा १० भन्दा बढी रहन नपाउने गरी काममा लगाइएको अध्यक्ष धिताललेले बताउनुभयो । पहिलो चरणमा रोजगारी दिइएकालाई निश्चित दिनपछि फिर्ता पठाउने र अर्को समूहलाई सोही काममा लगाउने योजना गाउँपालिकाले बनाएको उहाँले बताउनुभयो । (रासस)