नीति तथा कार्यक्रम

माधव नेपालको आफ्नै पार्टी नेताहरुसँग गोप्य छलफल

‘दश–बीस वर्षपछिसम्म गर्न नसकिने खालका विषय समेत समेटेर नीति तथा कार्यक्रम भद्दा रूपमा आयो’

सफल खबर संवाददाता

आइतबार, ०४ जेठ २०७७, ०८ : ५३
माधव नेपालको आफ्नै पार्टी नेताहरुसँग गोप्य छलफल

काठमाडौं । संसदमा नीति तथा कार्यक्रममाथी आजबाट छलफल शुरु हुदैछ । छलफल छोटो बनाउन र दुई दिनभित्र सक्ने योजनामा सरकार लागेको छ । प्रतिपक्ष काँग्रेसले नीति तथा कार्यक्रममा आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेसँगै प्रधानमन्त्री ओलीले प्रतिपक्षको आक्रामक रणनीतिको प्रतिरक्षा गर्न आफना सांसदहरुलाई सानो–सानो समुहमा छलफल शुरु गरेका छन् ।

नीति तथा कार्यक्रममै विवादास्पद एमसीसीका विषय समेट्ने देखी कतिपय भद्दा कार्यक्रम समेटेर ल्याएकोमा नेकपाका वरिष्ठ नेताहरुलाई नै चित्त बुझेको छैन् । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका विषयमा पनि पार्टीभित्र छलफल बिनै तयारी गरेका थिए । तर पार्टीभित्र आक्रोश बढन सक्ने ठानी उनले औपचारिकता दिन सामान्य छलफल सचिवालयमा गराउन चाहे । त्यही अनुसार, बिहिबार पार्टी सचिवालय बैठक बालुवाटारमा बस्यो ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरुले नीति तथा कार्यक्रममै लिम्पियाधुरा सम्मको नेपाली भूमिका विषयमा प्रष्ट बोल्न र त्यहासम्मको भूमि समेटेर नेपालको नक्सा जारी गर्ने विषय नीति तथा कार्यक्रममा समेट्न आग्रह गरेका थिए । अन्तिममा पार्टीले दिएको सुझाव समेट्न दबाबमा परेका ओलीले अन्ततः उक्त विषय समेटेपनि अन्य कार्यक्रम भद्दा कार्यक्रम समेटेर ल्याएको वरिष्ठ नेताहरुले नै बताउन थालेका छन् ।

पार्टीभित्रको अन्तरसंर्घष पेचिलो बनिरहेका बेला सरकारले ल्याएको कार्यक्रममा कस्ता रणनीति बनाउने भन्नेमा अहिले अध्यक्षद्धय प्रधानमन्त्री केपीओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालले आफु निकट सांसदहरुसँग छलफल तिब्र बनाएका छन् । अध्यक्ष प्रचण्डले कार्यक्रम राम्रो भएपनि कार्यान्वयन चुनौतिपूर्ण रहेको पारम्भिक प्रतिक्रिया दिएका छन् । माधव नेपालले भने यस विषयमा बाहिर सञ्चारमाध्यममा कुनै प्रतिक्रिया दिईसकेका त छैनन ।

तर उनले नीति तथा कार्यक्रममा लिम्पियाधुरा सम्मको भूमि नेपालको भएर र सो भूमि समेत समेटेर नेपालको नक्सा जारी गर्ने विषय बाहेक अन्य धेरै विषय भद्दा रुपमा आएको आफुलाई भेटन पुगेका नेताहरुसँग बताउन थालेका छन् । 
उनलाई शनिबार मात्रै स्थायी समिति सदस्यहरु टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, मणि थापा लगायत नेताहरुले भेट गरेका थिए । थापा बाहेक रायमाझी र पौडेल सांसद पनि हुन् । उनलाई निकट स्थायी समिति सदस्यहरुले पनि भेटेर नीति तथा कार्यक्रमका विषयमा आफना सुझाव र धारणा राखिरहेका छन् ।

वरिष्ठ नेता नेपालले नीति तथा कार्यक्रम मूल रूपमा ठीकै भए पनि आर्थिक वर्षभित्र ठोस रूपमा गर्नेभन्दा पनि यसअघिको समीक्षा र दश–बीस वर्षपछिसम्म गर्न नसकिने खालका विषयसमेत समेटेर भद्दा रूपमा ल्याइएको विचार राखेको सहभागी एक नेताले सफलखबरसँग भने । कार्यक्रम सरकारको मूल रुपमा ठिक भएपनि यो भद्दा देखियो, यस अघिको समिक्षा वढी भयो, आउने १०-२० वर्षमा पनि होलान र ? भन्ने खालका कार्यक्रम छन्,’ वरिष्ठ नेता नेपालको भनाई उदधृत गर्दै नेपाललाई भेटेका एक नेताले भने,–‘कोरोनापछिको विश्व अर्थतन्त्र, नेपाली अर्थतन्त्रमा पार्ने प्रभावलाई गहिरो गरी आत्मसमिक्षा गरी अबको नीति तथा कार्यक्रम केन्द्रीत गर्नुपर्नेमा त्यसो गर्न सकेको देखिन्न । यो अलिक भद्दा रुपमै आएको छ ।’