बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालसित समन्वयमा प्रदेश सरकारले रामनगरस्थित धागो कारखानामा सञ्चालन गरेको कोरोना अस्पलालमा उपचार गराइरहेका कोभिड–१९ संक्रमित २५ वर्षीय युवाले सबैको ध्यान खिचेका छन् ।
उनको दैनिकी बिरामीको जस्तो छैन । उनी नाचगान गरेर दिन बिताइरहेका छन् । ‘संक्रमित भइहालियो,’ उनी भन्छन्, ‘अब खुसी भएर यसलाई जित्नु छ ।’ रुपन्देहीको कोटहीमाई गाउँपालिका १ का युवाले आत्मबल बढाउन रमाइरहेको बताए । गत शुक्रबार काठमाडौंमा उनको स्वाब परीक्षण गरिएको थियो । त्यसबाट उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उनीमात्र छन् । एक्लै भएकाले निराश हुन नदिन उनलाई काउन्सिलिङ गर्ने र गीत बजाइने गरिएको छ ।
मन पर्ने गीत बजेपछि शय्यामा रहेका युवा उठेर नाच्न थाल्छन् । त्यहाँ कार्यरत नर्सले उनी नाचिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । अहिले उनको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । ‘कोरोना लाग्यो भन्ने सुनेपछि छाँगाबाट खसेझैं भएँ,’ ती युवाले अस्पतालका चिकित्सक र नर्सलाई भन्ने गरेका छन्, ‘यहाँ आएपछि रमाउन सिक्दैछु ।’ लुम्बिनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बिरामीलाई सकरात्मक ऊर्जा दिन नर्स तथा चिकित्सकीय टोली खटिएको बताए । ‘बिरामीलाई एक्लै बस्दा निराशा नहोस भनेर अस्पताललाई संगीतमय बनाएका छौं,’ उनले भने, ‘नियमित परामर्श र छलफल पनि गरेका छौं ।’
संक्रमित युवाको संगीतमा रुची भएकाले नाच्ने गाउने गरेको उनले बताए । अस्पतालमा १६ जनाको चिकित्सकीय टोली छ । ‘पहिलो दिन केही हतास थिए,’ खनालले भने, ‘अहिले उनी ठीक छन् । हाँसेर बोल्छन् ।’ संक्रमित युवा भारतको दिल्लीमा रोजगारी गर्थे । लकडाउन लम्बिएपछि दिल्लीबाट नेपाल आएका थिए । उनी गत बैशाख ४ गते सिमावर्ती सम्मरीमाई गाउँपालिका–२ स्थित ठोटरी नाकाबाट राति लुकेर मुलुक प्रवेश गरेका थिए । उनलाई वैशाख ५ गते दिँउसो आफ्नै दाइले मझगावा आदर्श माविको क्वारेन्टाइन पुर्याएका थिए । उनमा कोरोनाका लक्षण देखिएको छैन । कोरोना अस्पतालका चिकित्सक सुशर्दन थापाले उनले रमाएर रोगलाई जित्ने प्रयास गरिरहेको बताए । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सुर्नयामा १० शय्याको अस्पताल निर्माण हुँदै
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै
तीस करोड लागतमा अस्पताल भवन निर्माण
बजेट अभावले बैजपुरको अस्पताल सञ्चालनमा ढिलाइ
सिरहाको लहानमा सुविधासम्पन्न अस्पताल बनाइने
मुख्यमन्त्री सिंहद्वारा १० अस्पताल बन्द गर्न निर्देशन