अझै एक सातासम्म वर्षाको निरन्तरता

पत्रपत्रिकाबाट

मंगलबार, २३ बैशाख २०७७, ०६ : ३५
अझै एक सातासम्म वर्षाको निरन्तरता

काठमाडौँ । नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ ।

नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्र्वी भू–भागमा वर्षा गराउने न्यून चापीय प्रणाली कायम रहेको छ । त्यस्तै बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव पनि उत्तिकै सक्रिय बनेको छ । पूर्वमनसुन (प्रिमनसुन)को समयमा लगातार वर्षा गराउन यिनै पाँच वायु प्रणाली कारक रहेकाले वैशाखको सुक्खा याममा पनि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैका कारण एक सातासम्म वर्षा हुने अनुमान महाशाखाले गरेको छ ।

मौसमविद् प्रतिभा मानन्धरले भन्नुभयो, “अहिले नेपालमा चारैतिर वायु नै वायुको प्रभाव परेको छ, जसका कारण पानी पर्ने क्रम निरन्तर झैं हुने देखिएको छ । ”
पश्चिमी वायुको प्रभाव रहँदै गर्दा अन्य वायुले पनि साथ दिएकाले वर्षा मौसममा झैं वर्षा भइरहेको उहाँले बताउनुभयो तर वर्षाको समयको झरी जस्तो लगातार बर्सिरहने गुण भने यसमा नरहने उहाँले प्रस्ट्याउनुभयो । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने गुण यस समयमा भइरहने गर्छ । साथै प्रिमनसुनको विशेषता मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानी बढी हुने गर्छ ।

“हाल देखिएको मौसम प्रणालीले विस्तारै प्रिमनसुनलाई मनसुनतिर धकेलिँदै लगेको देखाउँछ । विभिन्न वायु सक्रिय बनेर पश्चिमी वायुलाई विस्थापित गर्ने क्रममा यो प्रणाली विकसित भएको हो,” मौसमविद् मानन्धरले सुनाउनुभयो । सिजन परिवर्तन हुँदै गर्दा र मनसुनको वातावरण बन्ने क्रममा धेरै किसिमका वायु नेपाल भित्रने गर्छ । जुन वायुले अन्य वायुलाई विस्थापित गर्न सक्छ, त्यो रहन्छ । अन्य वायु कमजोर बन्छ । मौसममा आएको उतारचढाव रहेकाले सचेत रहन महाशाखाले भनेको छ । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस