सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

सफल खबर संवाददाता

बुधबार, २५ चैत्र २०८२, २१ : ३४
सातै प्रदेशमा वर्षा, बिहीबारसम्म प्रभाव रहने

काठमाडौँ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ । वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ ।

विभागमा आज साँझ प्राप्त अभिलेखअनुसार केही जिल्लामा भारीउन्मुख वर्षा भएको छ । साँझ पौने ७ बजेको मापनअनुसार आज पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा डडेलधुरामा ४६.६ मिलिमिटर र डोटीमा ४२.२ मिलिमिटर वर्षा भएको छ । यो भारीउन्मुख वर्षा हो । यस्तै काठमाडौँमा १३, ललितपुरमा १२ र भक्तपुरमा ८ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो ३ घण्टामै डडेलधुरामा ३० मिलिमिटर वर्षा भइसकेको छ । यस्तै धनकुटामा १५ मिलिमिटर, सुर्खेतमा १९, डोटीमा १३, गोरखामा ११ं, मिलिमिटर वर्षा भएको छ । अहिले पनि धेरै जिल्लामा वर्षा जारी छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार बदली भोलि पनि कायम रहने र ठाउँ ठाउँमा वर्षा हुने जनाइएको छ । बिहीबार रातिदेखि भने बदली कमजोर हुँदै जाने विभागले जनाएको छ ।

बिहीबार कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने र कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्यांङसहित मध्यमवर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस