रित्तै फर्कियो अमेरिकी जहाज

मंगलबार, ०९ बैशाख २०७७, १५ : २४
रित्तै फर्कियो अमेरिकी जहाज

फाइल फोटो

काठमाडौँ । केही कूटनीतिक सामग्री बोकेर नेपाल आएको अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ । कूटनीति सामग्री ल्याइएको भनिएको उक्त जहाजले करिब ४० किलो सामान ल्याएको विमानस्थलले जनाएको छ । कूटनीतिक भनिएका ती कस्ता सामग्री हुन् भन्ने खुलेको छैन । 

अमेरिकी जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी सामान झारेर आजै अमेरिका फर्किएको हो । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले कूटनीतिक सामग्री बोकेर आएको अमेरिकी वायु सेवा कम्पनी जर्नी एभिएसनको जहाज स्वदेश फर्किएको बताउनुभयो । अमेरिकाबाट सामग्री लिएर आएको सो जहाज काठमाडौँबाट भने रित्तै फर्किएको छ ।

श्रीको सिङ्गापुर उडान बिहीबार स¥यो

यसैबीच स्वास्थ्य सामग्री लिन श्री एयरलाइन्सको चार्टर्ड जहाज आज सिङ्गापुर उडान भर्ने तालिका रहे पनि उडान हुन सकेन । श्रीको जहाज आगामी बिहीबार सिङ्गापुर उड्ने कम्पनीले जनाएको छ । यसअघि गत शुक्रबार उडान गर्ने योजना विफल भएको थियो । पुनः मङ्गलबारका लागि उडान तालिका थियो तर अन्तिम समयमा उडान रोकिएको छ । केही कूटनीतिक प्रक्रिया पूरा नभएकाले आज उडान हुन नसके पनि बिहीबार उडान हुने श्री एयरलाइन्सले जनाएको छ ।

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्रीले चार्टर्ड उडानमार्फत सिङ्गापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन लागेको हो । श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको हो । श्री एयरलाइन्सले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो ।(रासस)