५३६ जनाको दु्रत परीक्षणमा रिपोर्ट नेगेटिभ

रासस

सोमबार, ०८ बैशाख २०७७, २० : १२
५३६ जनाको दु्रत परीक्षणमा रिपोर्ट नेगेटिभ

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन तनहुँमा ५३६ जनामा दु्रत परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये ४७२ पुरुष र ६४ महिला रहेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिकामा विदेशबाट फर्किएका ८६ मध्ये ४३, व्यास नगरपालिकामा १९६ मध्ये १२२, म्याग्दे गाउँपालिकामा ४३ मध्ये ३६, शुक्लागण्डकी नगरपालिकामा १२४ मध्ये ७०, भीमाद नगरपालिकामा १२५ मध्ये ७३, घिरिङ गाउँपालिकामा ६२ मध्ये ४०, ऋषिङ गाउँपालिकामा ८५ मध्ये ६२, देवघाट गाउँपालिकामा ३४ मध्ये, बन्दीपुर गाउँपालिकामा २३ मध्ये २१ र आँबुखैरेनी गाउँपालिकामा २४ मध्ये १८ को दु्रत परीक्षण भइसकेको छ । दमौली अस्पतालमा १६ जनाको दु्रत परीक्षण गरिएको छ ।

“स्थानीय तहबाट तालिमप्राप्त स्वास्थ्यकर्मी खटाएर टोलमा पुगेर  परीक्षण गरिएको छ”, अधिकारीले भन्नुभयो, “विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा १४ दिनदेखि २१ दिनसम्म बसेका सर्वसाधारणको परीक्षण गरिएको छ ।”

गण्डकी प्रदेश सरकारले परीक्षणका लागि आवश्यक किट उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारले तनहुँका लागि ६४२ थान किट पठाएको छ । अधिकारीका अनुसार जिल्लाका लागि थप एक सय थान किट उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिएको छ । प्रदेश सरकारले एक महिनायता नेपाल आएका प्रदेशभित्रका तीन हजार ७५० जनाकै दु्रत परीक्षण गर्ने अभियान सञ्चालन गरेको छ । परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा पुनःपरीक्षणका लागि ल्याबमा पठाइनेछ । दु्रत परीक्षणबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरै जनामा परीक्षण गरी जोखिमलाई न्यूनीकरण गराउन सहयोग पुग्ने विश्वास लिइएको छ । 

चैत १ गतेदेखि जिल्लामा विदेशबाट आउनेको सङ्ख्या ८०२ पुगेको छ । भारत लगायत तेस्रो मुलुकबाट जिल्ला आउनेमध्ये भानुमा ८६, व्यासमा १९६, म्याग्दे गाउँपालिकामा ४३, शुक्लागण्डकीमा १२४, भीमादमा १२५, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा ८५, देवघाट गाउँपालिकामा ३४, बन्दीपुर गाउँपालिकामा २३ र आँबुखैरेनी गाउँपालिकामा २४ छन् ।

तनहुँमा हालसम्म १२ जनाको स्वाव परीक्षण गरिएकामा उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको छ । ती व्यक्तिको स्वाव पोखरामा परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै तनहुँका सबै वडामा कोरोना रोकथाम समूह गठन गरिने भएको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्लाका ७५ वटै वडामा रोकथाम समूह गठन गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कमाण्ड पोष्टको बैठकले दश वटै स्थानीय तहका वडामा समुदायस्तरको रोकथाम समूह गठन गर्ने निर्णय गरेको छ । उक्त समूहमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षा निकाय, महिला स्वास्थ्य स्वयंसेविका, रेडक्रस, गैरसरकारी संस्थाका प्रतिनिधि र सामुदायिक स्वयंसेवकको सहभागिता रहनेछ । उक्त समूह गठनका लागि समन्वय गर्न स्थानीय तहलाइ लेखी पठाउने निर्णय गरिएको छ । 

आगामी दिनमा सम्भावित सङ्क्रमित स्थलहरुमा कुनै पनि व्यक्तिको आवागमन नहुने व्यवस्था मिलाउने, परीक्षण प्रतिवेदन पोजिटिभ आएमा तुरुन्त ट्रेसिङ गरी उक्त स्थलमा बस्ने सबैलाई परीक्षण गर्न लगाउने निर्णय भएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । बैठकले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६ बमोजिम सावधानी अपनाई शव व्यवस्थापन कार्य गर्न लगाउने, शङ्कास्पद बिरामीलाई अस्पतालसम्म ल्याउन मैत्रीपूर्ण अस्पतालले सेवा दिने र विषम परिस्थिति भएमा आवश्यक सुरक्षा कालीभञ्जन गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी गणबाट गरिने निर्णय गरेको छ ।

गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त पाँच थान टेन्ट र नेपाल रेडक्रस सोसाइटी÷स्याङ्जा विपद् व्यवस्थापन समितिबाट प्राप्त ५० थान व्यक्तिगत सुरक्षा कवज (पिपिई) विभिन्न अस्पताल तथा प्रहरी कार्यालयलाई वितरण गरिएको छ ।  जिल्ला प्रशासन कार्यालयमा राखिएको टेन्ट र पिपिई आवश्यक देखिने निकायलाई प्रदान गरिनेछ ।