एजेन्टको अभावमा पीसीआर परिक्षण रोकीयो

रासस

सोमबार, ०८ बैशाख २०७७, १९ : ३३
एजेन्टको अभावमा पीसीआर परिक्षण रोकीयो

नारायण अधिकारी
काठमाडौं । भरतपुर कोरोना (कोभिड १९) प्रयोगशालामा पीसीसआर परिक्षण गर्ने रिएजेन्ट सकिएपछि आजबाट काम रोकिएको छ । यहाँ दैनिक ३५ देखि ४० जनाको पीसीआर परिक्षण हुन्छ । भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार एक सातादेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग रिएजेन्ट सकिन लागेकाले माग गरिएको भएपनि प्राप्त हुन नसकेपछि आजबाट काम रोकीएको हो ।

रिएजेन्ट मागेर तीन पत्र पठाइएको छ । हेटौडास्थित प्रदेश कार्यालयको प्रयोगशालाबाट रिएजेन्ट ल्याउन कर्मचारी पठाइएकोमा त्यहाँ पनि आइतबार बाँकी नमूनालाई पुग्ने मात्र ल्याइएको तिवारीले बताउनुभयो ।  परिक्षण हुन बाँकी आठ नमूनालाइ मात्र हेटौडाबाट रिएजेन्ट ल्याइएको उहाँले बताउनुभयो । 

परीक्षणका लागि आज भरतपुर कोरोना अस्पतालमा मात्र २० जनाको नमूना सङ्कलन गरिएको छ । रिएजेन्ट उपलव्ध नभएपछि अन्य अस्पतालबाट नमूना सङ्कलन नगरिएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । आज र भोलि थप हुने नमूना परीक्षणका लागि काठमाडौं पठाइने छ । नमुना सङ्कलन गरिएकालाइ नतिजा नआएसम्म सम्बन्धित अस्पतालमा राख्ने गरिन्छ । ¥यापिड डाइग्नोष्टिक टेष्ट भइरहेको छ । त्यसमा पोजेटिभ आउनेलाई पनि पीसीआर गर्ने गरिएको छ । 

चैत २१ गतेबाट शुरु भएको यस प्रयोगशालामा मन्त्रालयले ४ सय नमूना परिक्षण गर्ने गरी रिएजेन्ट पठाएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहोनीले रिएजेन्ट अभाव भएको बताउनुभयो । थप आउनका लागि १÷२ दिन लाग्ने बताइएको छ ।  जिल्लामा दुइ जनामा कोरोना पोजेटिभ देखिएको छ । बाहिरबाट आएका झण्डै ७ सय रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले हालसम्म ६ सय बढीको परीक्षण भइसकेको बताउनुभयो । त्यसमध्ये तीनजनामा पोजेटिभ देखिएकोमा एक जनामा पुनः पीसीआर परिक्षणमा पनि पोजेटिभ देखिएको छ । एक जनाको नेगेटिभ देखिएको छ । अर्का एक जनाको नतिजा आउन बाँकी छ । 

प्रेस यूनियनको रु ३ लाखको राहत कोष  
नेपाल प्रेस यूनियन चितवनले रु ३ लाखको पत्रकार राहत कोष स्थापना गरेको छ । कोरोना महामारीलाई लक्षित गरी आन्तरिक स्रोतबाट रकम व्यवस्थापन गरेर आज दिउसो बसेको ‘अनलाइन बैठक’ ले सो कोष स्थापनाको निर्णय गरेको हो । 

यूनियनका जिल्ला अध्यक्ष अनिल ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा निवर्तमान अध्यक्ष नारायण अधिकारी, केन्द्रीय सदस्य तथा पूर्वअध्यक्ष वसन्त पराजुली रहनुभएको छ । बैठकले पत्रकार सहयोग समिति गठन गरेको छ । कार्यसमिति सदस्य राजु चौधरीको संयोजकत्वमा सदस्य सशील पन्त, हरि पौडेल रहनुभएको समिति गठन भएको छ । कोषाध्यक्ष विप्लव काफ्लेको संयोजकत्वमा तीन सदस्यीय राहत कोष अभिवृद्धि समिति समेत गठन गरिएको छ । 

बैठकले अति आवश्यक परेमा मात्र फिल्डमा सरक्षित भएर जान  पत्रकारलाई अनुरोध  गरेको छ ।   जिल्लामा कोरोना सङ्क्रमण देखिइ सकेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाइ आग्रह गरिएको छ । कार्यक्षेत्रमा जाने पत्रकारलाई सञ्चार गृहले आवश्यक सुरक्षाका सामाग्री उपलब्ध गराइदिन, पारिश्रमीक समयमा दिन र ढुक्कसँग समाचार सम्प्रेषणको वातावरण वनाइदिन स्थानीय प्रशासनसँग बैठकले माग गरेको छ । 

प्रतिक्रिया दिनुहोस