महरालाई सफाइ : पीडितको इन्कारी बयान नै मुख्य प्रमाण

पत्रपत्रिकाबाट

सोमबार, ०८ बैशाख २०७७, ०६ : ३२
महरालाई सफाइ : पीडितको इन्कारी बयान नै मुख्य प्रमाण

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर गरेको छ ।
न्यायाधीश अम्मरराज पौडेलले गरेको फैसलाअनुसार महरालाई कुनै पनि आधारमा दोषी ठहर गर्न मिल्ने प्रमाण नभेटिएको फैसलाको पूर्ण पाठमा उल्लेख छ । जिल्ला अदालतबाट महराले गत ५ फागुन २०७६ मा सफाइ पाएर छुटेको भए पनि फैसलाको पूर्ण पाठ भने केही समयअघि मात्रै आएको हो ।

पीडित भनिएकी संसद् सचिवालयकी कर्मचारीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दा आफूमाथि बलात्कारको प्रयासको आरोप खण्डन गरेको, अनुसन्धानका क्रममा नै उनले इन्कारी निवेदन दिएको, बकपत्रमा महरा आफ्नो कोठामा नआएको भनी लेखाएकोलगायतका कारण विश्लेषण गर्दै महरा दोषी हुन नसक्ने फैसलामा उल्लेख छ ।
अदालतले ‘वयस्क उमेरको पीडित जाहेरवालाले सुझबुझका साथ बिना कुनै दबाब अदालतसमक्ष गरेको बकपत्रलाई यस अदालतले निर्णायक प्रमाणको रूपमा लिनुपर्ने हुन्छ’ भनेको छ र उनकै बयानका आधारमा महरा निर्दोष रहेको फैसला सुनाएको छ ।

‘कृष्णबहादुर महरा पीडितको डेरा कोठामा गई रक्सी सेवन गरी हातपात गरी पीडितउपर जबर्जस्ती करणीको उद्योग गरेका हुन् भनी बिनाआधार कसुर कायम गर्न मिल्ने देखिएन,’ फैसलामा भनिएको छ, ‘प्रमाणको अभावमा प्रतिवादी महराले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ ।’
त्यस्तै, फैसलामा पीडित महिलाको स्वास्थ्य अवस्थाको विषयमा देखिएको विषयलाई पनि उल्लेख गरिएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकले अदालत पुगेर ‘पीडितको तत्कालको स्वास्थ्य अवस्था हेरी मानसिक रोग विशेषज्ञसँग परामर्श गर्न सुझाव दिइएको’ बताएका थिए । विशेषज्ञ चिकित्सकको यस्तो भनाइलाई अदालतले ‘पीडित महिलाले आफूले मानसिक रोगको औषधि सेवन गरिरहेको छु भन्ने दाबी पुष्टि भएको’ भनेको छ । पीडित मानसिक रूपमा स्वस्थ नरहेको र उनले त्यस अवस्थामा दिएको जाहेरीलाई ‘वास्तविक र यथार्थपरक’ मान्न नसकिने ठहर गरेको छ ।

‘वयस्क महिलाले अदालतमा आई आफूले दिएको जाहेरी पूर्णतः खण्डन गरी प्रतिवादी निर्दोष रहेको भनी लेखाएको बेहोरालाई अदालतले अन्यथा भन्न मिल्ने ठाउँ रहँदैन । यस विवादमा पीडित स्वयंले मुद्दाको अनुसन्धानको चरणदेखि नै प्रतिवादी निर्दोष रहेको, वारदात मितिमा प्रतिवादी आफ्नो डेरा कोठामा नआएको र मउपर प्रतिवादीबाट कुनै कसुर नै नभएकाले प्रतिवादीलाई मुद्दाको अनुसन्धान गर्दाको चरणमा समेत प्रहरी हिरासतमा राख्ने गरी म्याद समेत थप्न हँुदैन भनी निवेदन दिएको देखिएको छ भने बकपत्र गरेको देखिँदा अदालतले जाहेरवालाको बकपत्रलाई अन्यथा शंका गर्नुपर्ने अवस्था देखिँदैन,’ फैसलामा उल्लेख छ ।

गत १२ असोजमा महरा पीडितको कोठामा पुगेको र दुवै पक्षबीच छिनाझम्टी हुँदा महराको चस्मा खसेर फुटेको थियो । सिसासहितको एउटा फ्रेम महराले आफूले लगेपछि एउटा आँखाको सिसा र चस्माको खुट्टा पीडितको कोठामा छुटेको थियो । आरोपपत्रको दाबीअनुसार, ‘घटनास्थलमा भेटिएको चस्माको सिसा र फ्रेमको डन्डी महराको नै हो भन्ने तथ्य स्थापित भएको देखिन्छ ।’ तर, अदालतले त्यसलाई प्रमाण र आधार मानेको छैन ।  यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।