सबै तहमा आरडिटीः २३७ नेगेटिभ

रासस

आइतबार, ०७ बैशाख २०७७, १९ : ०३
सबै तहमा आरडिटीः २३७ नेगेटिभ

काठमाडौँ । सिन्धुपाल्चोकमा गत चैतभित्र विदेशबाट घर फर्केका व्यक्तिमध्ये  हालसम्म २३७ जनाको कोरोना परीक्षण गरिएकामा सबै नतिजा नेगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले तीन नगरपालिकासहित १२ स्थानीय तहमा हाल आरडिटी थालिएको र परीक्षण क्रम जारी  छ । 

जिल्लामा हाल कोही पनि आइसोलेशन वार्डमा छैनन् । कोरोना भाइरस संक्रमण आशंकामा  जाँच गर्न आएका आठ जनालाई शुरुमा भर्ना गरिएकामा  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको छ । विदेशबाट आएका र आफन्तसहित प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबीसे र चौतारा अस्पतालमा गरी आठ जनालाई  आइसोलेशन वार्डमा राखिएको थियो ।

हाल चौतारा साँगाचोकगढी नगरपालिका ७ मेलचौर, मेलम्ची, बाह्रबीसे, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिकासमेतमा २१ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।