अलपत्र यात्रु भन्छन्–‘घर पुगेपछि बल्ल सास आयो’

आइतबार, ०७ बैशाख २०७७, ०८ : ३२
अलपत्र यात्रु भन्छन्–‘घर पुगेपछि बल्ल सास आयो’

वीरेन्द्रनगर । लामो बाटो हिँड्दाहिँड्दै खुट्टामा ठूला फोका उठे पनि सल्यानको सिद्धकुमाख गाउँपालिकाका नन्दराम खड्काले हार खाएनन् । लमजुङबाट हिँडेर ७ दिनपछि शनिबार घर पुग्दा उनीमा खुसीको सीमा नै थिएन ।

‘आजसम्म दुई छाकमात्रै खाना खाएँ,’ उनले भने, ‘तर पनि घर पुगेर लामो सास फेरेको छु ।’ वैशाख महिनाको टण्टलापुर घाममा भोकै प्यासै हिँड्दै घर पुगेका खड्का ठेकेदारले काम गरेको पैसा नदिएपछि १ गते लमजुङबाट हिँडेका थिए । लकडाउन लम्बिएसँगै आफू बसिरहेको ठाउँमा खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको अभाव भएपछि उनी घर हिँडेका हुन् ।

शुक्रबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्देशन दिएसँगै अलपत्र परेकामध्ये २ सय ५० जनालाई विभिन्न जिल्लामा पुर्‍याइएको छ । कर्णालीमै आउनका लागि काठमाडौंदेखि हिँड्दै आएको अर्को समूहमा थिए कालिकोटको खाँडाचक्र नगरपालिकाका अर्जुन शाही ।

अहिले उनी वीरेन्द्रनगरको क्वारेन्टाइनमा बसेका छन् । सडकको काम गर्नका लागि गत फागुनमा काठमाडौं गएका उनले १ गते राती १० बजे पैदल यात्रा सुरु गरेका थिए । ‘आफ्नै देशभित्र पनि यसरी अलपत्र परियो,’ उनले भने, ‘दुई दिनसम्म त खाना खान पनि पाईएन, हिजो ९शुक्रबार० बबई आएर पकाएर खायौँ ।’ कर्णाली प्रदेश सरकारले विभिन्न जिल्लाबाट घर जान भनी हिँड्दै आएका सुदूरपश्चिम र कर्णाली प्रदेशका ८० जनालाई बबई नाकाबाट शुक्रबार राति आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा उद्धार गरिएको थियो ।

शुक्रबार हिँडेरै बर्दिया जाने टोलीमा थिए जाजरकोटका कमल चन्द पनि । काम गर्न गोरखा गएका उनले आफूहरुका लागि सरकार नभएको दुःखेसो पोखे । ‘लामो जंगलको बाटो हिँड्दा पानी पिउन पनि पाइएन,’उनले भने, ‘बाटोमा भेटिएका मान्छेले बरु एक पोका चाउचाउ खान दिए, तर सरकारले हामीलाई केही गरेन ।’आफ्नै देशमा पनि शरणार्थीजस्तो हुनुपरेको उनको गुनासो छ ।

ज्यालादारी काम गरी घर खर्च चलाउने अधिकांश मजदुरहरु अहिले पैदल यात्रै गरेर घर फर्किँदैछन् । विशेषगरी पुर्वी जिल्लाबाट प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेश फर्किने मजदुर धेरै छन् । शुक्रबारदेखि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भेरीगंगा नगरपालिका, विभिन्न स्थानमा रहेका स्वयमसेवीहरुको पहलमा उद्दार गरी क्वारेन्टाईनमा राखिएको छ ।

लकडाउनको समयमा अलपत्र परेकाहरुका लागि केही व्यक्तिहरुले स्वयम्सेवक रुपमा काम गरिरहेका छन् । आपत्कालीन प्रतिकार्य केन्द्रले देशैभर आ–आफ्नो स्वयमसेवी समूह बनाइ काम गरिरहेको छ । केन्द्रका संयोजक अरुण खड्काले बाटोमा अलपत्र परेकाहरुलाई सम्बन्धित निकायसँग समन्वय गरी बाटोमै बस्ने व्यवस्था मिलाउनेदेखि घर पुर्‍याउने व्यवस्था पनि गरिएको बताए । संस्थाका अनुसार शुक्रबार र शनिबार गरी विभिन्न ठाउँमा अलपत्र परेका कर्णालीका करिब ३ सय जनालाई उद्दार गरि क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच, गत बिहीबार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद् वैठकले अहिले नागरिक जुन स्थानमा छन् सोही स्थानमा बस्ने व्यवस्था मिलाउन संघीय सरकारसँग अनुरोध गरेको छ । वैठकले सबै नागरिकलाई समान व्यवहार गर्न र सम्मानजनक रुपमा सुरक्षा प्रत्याभूति गराउन सबै प्रदेश, जिल्ला र स्थानीय तहलाई निर्देशन गर्न पनि केन्द्र सरकारसँग अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस