कोरोना सङ्क्रमित बसेका क्षेत्र शिल गरी परीक्षण शुरु

रासस

शनिबार, ०६ बैशाख २०७७, २० : ५३
कोरोना सङ्क्रमित बसेका क्षेत्र शिल गरी परीक्षण शुरु

काठमाडौं । छिमकी जिल्ला उदयपुरमा फेला परेका १२ जना कोरोना सङ्क्रमित सप्तरीको मस्जिदमा बसेको खुलेपछि उनीहरु बसेका क्षेत्र आज सिल गरिएको छ । कञ्चनरुप नगरपालिका–१ वैरवा र सप्तकोशी नगरपालिका–१ को मस्जिदमा बसेर गएको पत्ता लागेपछि मस्जिद रहेको मुस्लिम टोलमा आवतजावत बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले बताउनुभयो ।

सप्तकोशी–१ स्थित मस्जिदमा गत फागुन १५ र १६ गते सङ्क्रमित १२ जना बसेर गएको प्रत्यक्षदर्शीले बताएको वडा सदस्य जाहिर हुसेनले बताउनुभयो । वोदे बर्साइन् नगरपालिका–५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म एक लाख बढीको सहभागितामा धार्मिक सम्मेलन ‘इज्तिमा’ भएको थियो । इज्तिमा पछि ठूलो सङ्ख्यामा जमाती भारतको सभामा भेला भएर धर्म प्रचारका लागि विभिन्न मस्जिदमा गएका बताइएको छ । 

पछिल्लो पटक कञ्चनरुप–१ को वैरवास्थित मस्जिद हुँदै सप्तकोशी–१ फत्तेपुरस्थित मस्जिदमा बसेका जमाती नै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिदमा भेटिएका मुस्लिम अगुवाहरुको अनुमान छ । गत फागुन २५ गते उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई मस्जिद पुगेका उनीहरु त्यहाँ पाँच दिन बसेपछि त्रियुगा नगरपालिका प्रवेश गरेको वताइएको छ । 

कोरोना पुष्टि भएका १२ भारतीय नागरिक वैरवा र फत्तेपुरस्थित मस्जिदमा केही दिन बसेर उदयपुर प्रवेश गरेको खुलेपछि दुवै ठाउँका स्थानीयवासीको आज साँझ आरडिटी परीक्षण सुरु गरिएको छ । सप्तकोशी–१ का साथै मस्जिद रहेको वडा नम्बर २ र ४ को मस्जिदमा पनि जमाती गएको हुनसक्ने अनुमानमा सो वडासमेत आवतजावत बन्द गरिएको छ । वडा नम्बर २ र ४ मा आइतबार आरडिटीबाट परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । 

मस्जिदमा नमाज पढन जाने, मदर्सामा पढाउने मौलवी, भान्सेसहित सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिलाई पहिलो चरणमा परीक्षण गर्न लागिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो ।

आरडिटी परीक्षणका लागि वडा नम्बर १ का ७०, वडा नम्बर २ का दुई सय र वडा नम्बर ३ का ८३ जनालाई छनोट गरिएको सप्तकोशी नगरपालिका–२ का सदस्य जाहिर हुसेनले जानकारी दिनुभयो । सप्तरी हुँदै उदयपुर पुगेका १२ जनामा कोरोना पोजेटिभ देखिएपछि गएराति नै मस्जिदमा पुगेर जानकारी लिनुभएका सप्तकोशीका नगर प्रमुख उत्तम शर्माले आज आपत् व्यवस्थापन केन्द्रको बैठक बसेर मस्जिद क्षेत्रको मुस्लिम टोललाई कडा निगरानीमा राखेर आवतजावत बन्द गर्ने निर्णय गरेको बताउनुभयो । 

मुस्लिम टोलमा घरबाट बाहिर ननिस्कन र बाहिरबाट कसैलाई आउन नदिने गरी स्वयमसेवक खटाइएको छ । नगरप्रमुख शर्माले भन्नुभयो, “सप्तकोशीमा कार्यरत नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दक्षिण सीमामा कडाई गर्न खटाइएपछि जनशक्ति अभावमा युवालाई स्वयसेवकका रुपमा खटाएका छौँ ।” 

आरडिटी परीक्षणले मात्र ढुक्क हुने अवस्था नभएकाले सङ्क्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा नजिक हुनेको पिसिआर प्रविधीबाट स्वाब परीक्षणसमेत गरिने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले जानकारी दिनुभयो । जमातीको अप्रत्यक्ष सम्पर्कमा आउनेको भने आरडिटी गरेर रिपोर्ट नेगेटिभ आएमा होम क्वारेन्टाइनमा राखिने उहाँले बताउनुभयो ।

“पिसिआर गरेर रिपोर्ट नेगेटिभ आएमा क्वारेन्टाइनमा राखिने र पोजिटिभ आएमा आइसोलेशनमा राखेर उपचार गरिने छ”, यादवले भन्नुभयो, “प्रहरीले जमादीको कन्ट्याक्ट सर्भे गरिरहेको छ, ट्रेसिङ्ग र ट्रयाकिङ्ग गरेर सबै जमातीको स्वाब लिएर पिसिआर प्रविधिबाट परीक्षण गरिने छ ।” 

यादवका अनुसार इस्लाम धर्मालम्बीको धार्मिकसभा ‘इज्तिमा’ भएको बोदे बर्साइनमा आइतबार नेपाली सेनाका चिकित्सक टोलीसमेतको सहभागितामा आरिडिटी परीक्षण गरिने छ । सबै जमातीको सम्पर्क बोदे बर्साइन भएको र धेरै आयोजक तथा व्यवस्थापक बोदे बर्साइनका भएकाले सोही ठाउँमा परीक्षण केन्द्र खडा गरेर जमादीमा जाने सबैको आरडिटी र पिसिआर परीक्षण गर्न लागिएको उहाँले बताउनुभयो । 

सङ्क्रमित जिल्लाको दक्षिण–पश्चिम रहेको बोदे बर्साइनदेखि उत्तर–पूर्व रहेको कञ्चनरुप र सप्तकोशीको मस्जिदसम्म बस्दै गएको पाइएपछि सिङ्गो जिल्लावासी त्रसित छन् । जमातीहरु भारतबाट सङ्क्रमित भएपछि सप्तरी प्रवेश गरेको भएमा धेरै जनामा सङ्क्रमण फैलिएको हुन सक्ने अनुमानले सप्तरीवासी आतङ्कित बनेका छन् ।