आरडिटी परीक्षणमा १८ जनाको नेगेटिभ

रासस

शनिबार, ०६ बैशाख २०७७, ०९ : १७
आरडिटी परीक्षणमा १८ जनाको नेगेटिभ

काठमाडौं । पोखरा महानगरपालिका–१९ मा शुक्रबार १८ जनाको ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) गरिएकामा सबैको नतिजा नेगेटिभ आएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोगमा वडाले चैत महिनादेखि पोखरा आएकामध्ये तीन महिलासहित १८ जनाको आरडिटी परीक्षण गराएको वडाध्यक्ष शोभामोहन पौडेलले बताउनुभयो । 

यसअघि पनि पोखरा–१९ ले केही व्यक्तिको आरडिटी परीक्षण गरेको जानकारी दिँदै उहाँले हालसम्म परीक्षण गरिएका ४१ मध्ये सबैको नतिजा नेगेटिभ आएको बताउनुभयो । वडामा पहिलो चरणमा ८५७ लाई राहत वितरण गरिएको उल्लेख गर्दै अध्यक्ष पौडेलले दोस्रो चरणमा पुनः ५०० को हाराहारीमा राहत सामग्री वितरण गर्नुपर्ने देखिएको बताउनुभयो ।

यसैबीच गण्डकी प्रदेशसभा सदस्य रामजी बराल (जीवन) ले ज्यालादारी मजदुर धेरै ठाउँमा समस्यामा परेको भन्दै उनीहरूको स्थानीय तहले राम्रो रेखदेख  गर्नुपर्र्नेे बताउनुभयो । पोखरा–१९ मा भइरहेको राहत वितरण तथा कोरोना भाइरससम्बन्धी रोकथामका लागि भएका प्रयासबारे स्थलगत अवलोकन गर्दै उहाँले वडामा कुनै मजदुर खान नपाएर बस्नुपर्ने अवस्था नराख्न वडाध्यक्षलाई आग्रह गर्नुभयो ।

मजदुलाई राहत पनि नदिने र आफ्नो गन्तव्य जानसमेत रोक्न नहुनेमा जोड दिँदै उहाँले सजगताका साथ उचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।