विकासनिर्माणको काम नरोक्न मुख्यमन्त्रीको निर्देशन

रासस

शुक्रबार, ०५ बैशाख २०७७, २० : ३३
विकासनिर्माणको काम नरोक्न मुख्यमन्त्रीको निर्देशन

काठमाडौँ ।  कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास र आगामी दिनमा गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले एकीकृत भिडियो संवाद गर्नुभएको छ । दाङस्थित राजनीतिक दलका नेता, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख र नागरिक समाजका अगुवासंँग भएको संवादमा स्वास्थ्य सामग्री उपलब्ध भएकाले चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ उपचारमा लाग्न सघाउन उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा उहाँले स्थानीय श्रमलाई प्रयोग गरेर गर्ने काम र विकासनिर्माणका काम नरोक्न निर्देशन दिँदै  स्थानीय तहलाई कोरोनाविरुद्धको काम अघि बढाउन रकम पठाइएकाले स्थानीय तहका काम प्रभावकारी बनाउने गरी सहयोग गर्न आग्रह गर्नुभयो । 

दैनिक ज्यालादारी गरेर खाने विपन्न नागरिकलाई राहत प्रदान गर्न र त्यो एकद्वार प्रणालीबाट अघि बढाउन मुख्यमन्त्री पोखरेलले आग्रह गर्नुभयो ।  दैनिक ज्यालादारी गरेर खाने मजदूर र विपन्न समुदायलाई खाद्यान्नलगायत सामग्रीको व्यवस्थापन गर्ने काम राज्यको दायित्व भएकाले आवश्यक व्यवस्थापनका लागि मिलेर अघि बढ्न तथा पीडितले पाउने व्यवस्था मिलाउन र राहतको दुरुपयोग रोक्न शुरुदेखि निगरानी गर्नुपर्नेमा  जोड दिनुभयो ।  

प्रदेश सरकारले रुपन्देहीका बुटवल र भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेशन अस्पताल निर्माण गरेको र त्यहाँ सघन उपचार कक्षसहितको उपचारको व्यवस्था रहेको जानकारी दिँदै उहाँले भैरहवामा प्रयोगशाला परीक्षण शुरु गरिएको तथा नेपालगञ्ज र दाङमा प्रयोगशाला सञ्चालनको तयारीमा रहेको बताउनुभयो ।

सर्वपक्षीय भिडियो संवादमा  दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, दाङ जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपाली, नेकपा दाङ इञ्चार्ज जीवन गौतम, जिल्ला अध्यक्ष टीकाराम खड्का र  नागरिक समाजका संयोजक चन्द्रराज पन्त सहभागी हुनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस