प्रचण्डलाई ओलीले बालुवाटारबाट किन दिन खोजे यस्तो जवाफ

सर्वदलीय संन्यत्र निर्माणको एजेण्डालाई निस्तेज पार्न ओलीले बालुवाटारमा आयोजना गरे विपद् परिषद्को बैठक

मंगलबार, ०२ बैशाख २०७७, ०९ : ३८
प्रचण्डलाई ओलीले बालुवाटारबाट किन दिन खोजे यस्तो जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी ओली र पूर्व प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डका बीचको सम्बन्धमा पछिल्लो समय खटपट देखिएको छ । खासगरी पार्टीको आफै समेत सहभागी सर्वसम्मत निर्णयलाई प्रधानमन्त्री ओलीले अस्वीकार गर्नु, पार्टी मातहत सरकारलाई चलाउनु सट्टा आफु खुसी एकलौटी सरकार सञ्चालन गर्नु र सरकारका कतिपय काम कारवाही विवादास्पद समेत बन्दै जान थालेपछि दुई अध्यक्षका बीचको सम्बन्धमा दुरी केही हदसम्म बढेको छ ।

ओलीको आफै ब्रम्हज्ञानी र एकलौटी चल्ने प्रवृतिका कारण सत्तारुढ दल नेकपाभित्र अन्तरविरोध देखा परेको हो । पार्टीका बहुमत सचिवालय सदस्यले ओलीलाई आफ्नो कार्यशैली सुधार गर्ने र पार्टीमा छलफल गरि सरकारको काम अगाडी बढाउने पर्ने मागमा ओलीले अटेर गरेपछि नेकपाभित्र नेताहरुका बीचमा अन्तरविरोध देखिदै आएको छ  । 

सोही कारण अध्यक्षद्धय ओली र दाहालका बीचमा पनि केही विषयमा अन्तरविरोध देखा पर्नु स्वभाविक हो । तर यसैलाई लिएर ओलीले प्रचण्डका जुनकुनै प्रस्तावलाई पनि अस्वीकार गर्ने र आफु एकलौटी चल्न खोज्ने प्रवृति बढेर जान थालेको छ । कोरोना महामारीसँग जुध्न र त्यसको रोकथाम र नियन्त्रणका लागि अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीकै अध्यक्षतामा मुख्य राजनीतिक दलका नेताहरु सम्मिलित सर्वदलीय संन्यत्रको प्रस्ताव गरेका थिए ।  

५ वर्ष अगाडीको महाभूकम्पकै बेला जस्तो सबै राजनीतिक शक्तिहरुले आग्रह पूर्वाग्रहमा नरहेर कोरोनाको महामारीलाई पनि राष्ट्रिय एकताका साथ सामना गर्नुपर्ने जोड दिदै प्रचण्डले सर्वदलीय सन्यत्रको प्रस्ताव अगाडी सारेका थिए ।   उनको यो प्रस्ताव राष्ट्रिय संकटमा सबैलाई एकतावद्ध बनाउन पार्टीभन्दा माथी उठेर लिइनुपर्ने उचित प्रस्ताव भएको जनस्तरबाटै आवाज उठन थालेको छ । तर प्रचण्डको यो प्रस्ताव प्रधानमन्त्री ओली र उनी निकट नेताहरुलाई पाच्य भईरहेको छैन ।

खासगरी प्रमुख प्रतिपक्षी दल काँग्रेस लगायत राजनीतिक शक्तिहरुले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले समन्वय नगरेको भन्दै सरकारको आलोचना गरिरहदा प्रचण्डले प्रधानमन्त्रीको नेतृत्वमा सर्वदलीय संन्यत्रको प्रस्ताव गरेका थिए । तर प्रचण्डको त्यस्तो सर्वदलीय सन्यत्रको प्रस्तावलाई निस्तेज पार्न प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा सहितलाई सोमबार बालुवाटारमा बोलाएर विपद् परिषद् बैठक आयोजना गरेर जवाफ दिन खोजेका छन् ।

कानुनमै रहेको उक्त परिषद्लाई सक्रिय पारेर ओलीले प्रचण्डलाई जवाफ दिन खोजेको अर्थमा राजनीतिक विश्लेषकहरुले लिएका छन् ।  राष्ट्रिय संकटको समाधान सबै राजनीतिक शक्तिलाई मिलाएर अगाडी बढ्नुपर्ने प्रचण्डको प्रस्तावपछि प्रधानमन्त्री ओली हच्चकिएका छन् । त्यसपछि उनले अहिले कहिल्यै आवयकता नठानेको परिषद् बैठक बोलाएर प्रचण्डलाई जवाफ दिन खोजेका हुन् ।  प्रत्येक वर्ष कम्तीमा २ पटक परिषद् बैठक बस्नुपर्ने भएपनि गत वर्ष ओलीले परिषद्को बैठक बोलाएकै थिएनन् ।

अहिले भने उनले चौतर्फी राजनीतिक संन्यत्रको बहस उठन सक्ने ठानेर त्यसलाई निस्तेज पार्न परिषद्को बैठक बोलाईएको हुन सक्ने नेकपाभित्रै प्रश्न उठेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले काँग्रेस सभापति शेरबहादुर देउवाका तस्विर हाइलाइट गर्दै सरकारलाई सघाउन काँग्रेस तयार रहेको स्टाटस पोष्ट गरेबाट पनि ओलीले आफ्नै पार्टी अध्यक्ष दाहाललाई जवाफी फायर बालुवाटारबाट दिन खोजेको अर्थमा बुझनुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

त्यसो त ओलीले प्रदेशका मुख्यमन्त्रीहरु सँगको भिडियो कन्फरेन्समा पनि प्रचण्डको प्रस्तावलाई चुनौती दिएका थिए । उनले अहिले संन्यत्र आवश्यक नरहेको भन्दै प्रचण्डको प्रस्तावलाई अस्वीकार गरेका थिए ।  ओली अहिले पार्टीमा देखिएका विवाद र प्रश्नहरुका विषयमा पार्टीभित्र छलफल गर्न चाहदंैनन । तर पार्टी नेताहरुलाई उनी कुनै न कुनै तरिकाबाट जवाफ भने फकाउने गर्दै आएका छन् ।  सोमबार बालुवाटारमा ओलीले बोलाएको विपद् परिषद् बैठक पनि प्रचण्डलाई जवाफ दिनका लागि गरिएको एउटा बैठक रहेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

राष्ट्रिय संकट र विपदका बेला राष्ट्रिय राजनीतिक पार्टीहरुलाई उपेक्षा गरेर सरकारले आवश्यक महत्वपूर्ण निर्णय लिन थालेपछि जनस्तरबाटै सर्वदलीय संन्यत्रको आवश्यकता महसुस गरिरहेका थिए । त्यही बेला नेकपाकै अध्यक्ष प्रचण्डले त्यस्तो प्रस्ताव आफुले प्रधानमन्त्रीसँग र पार्टी सचिवालय बैठकमा गरेको खुलासा गरेपछि यो बहस झन चर्कन खोजेको थियो । 

ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बनाएको कोविड १९ रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले राजनीतिक दलसँग समन्वय नगरी धमाधम निर्णय लिइनु, औषधी तथा स्वास्थ्य उपकरण खरिद प्रकरण देखि काठमाडौंका रहेकालाई दुई दिन घर जान दिने सम्मका अपरिपक्व र विवादित निर्णय गर्नु, प्रधानमन्त्री आफु भने बिरामीको अवस्थामा बालुवाटारभित्रै गुमनाम बन्दै जानु र कोरोनाका विषयमा सरकारले गरिरहेको तयारीका विषयमा नेकपाकै अध्यक्ष लगायत सिंगो पार्टी अन्जान बन्नु र प्रतिपक्ष दल लगायत अन्य राजनीतिक शक्तिका नेता कार्यकर्तापनि घर भित्रै मात्र हराउदै जान थालेपछि पनि राष्ट्रिय सहमतिको आवश्यकता खटिएको थियो ।

तर ओलीले त्यसलाई अस्वीकार गर्न र आफुले विपक्षी काँग्रेससँग पनि सहकार्य र छलफल गरेको देखाउनका लागि मात्र विपद् परिषद्को बैठक बोलाएको हुन सक्ने अनुमान गरिएको छ । साँच्चै ओलीले विपद् परिषद्लाई सक्रिय बनाउन चाहेका हुन् या होइनन भन्ने कुरा परिषद्ले गरेको निर्णण कार्यान्वयनमा गृहमन्त्री अध्यक्ष रहेको कार्यकारी समितिलाई दिन्छन् या दिन्नन् ? भन्नेबाटै पुष्टि हुने सरकारकै मन्त्रीहरु बताउन थालेका छन् ।

विपद ब्यवस्थापन ऐनमा परिषद्मा भएका निर्णयको ब्यवहारिक कार्यान्वयनका लागि भने गृहमन्त्रीको नेतृत्वमा कार्यकारी समिति रहने ब्यवस्था छ । गृहमन्त्री अध्यक्ष रहेको कार्यकारी समिति सक्रिय भएर त्यसको कार्यान्वयन गर्नुपर्ने हुन्छ । सरकारकै एक मन्त्री भन्छन्, –‘तर ओलीले त्यो समितिलाई वाइपास गरेर अगाडी बढिरहबाट पनि देखिन्छ परिषद् बैठक राजनीतिक संन्यत्र निर्माणको एजेण्डालाई निस्तेज पार्नका लागि बोलाइएको मात्र हो । प्रचण्डलाई बालुवाटार बसेर जवाफ दिनका लागि मात्र हो ।’
 

प्रतिक्रिया दिनुहोस