सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाइ, भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा

सोमबार, ०१ बैशाख २०७७, १२ : ०६
सर्वोच्चको आदेश कार्यान्वयनमा ढिलाइ, भारतीय क्वारेन्टाइनमा बसेका नेपाली जोखिममा

– विनोद सिंह विष्ट

बैतडी । सर्वोच्च अदालतले सीमामा फसेका नेपाली नागरिकलाई स्वदेश ल्याउन दिएको आदेश कार्यान्वयनमा सरकारले ढिलाइ गरेको छ । चैत २४ गते सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै उनीहरुलाई नेपाल ल्याई अनिवार्य क्वारेन्टाइनमा राख्न भनेको थियो तर सीमापारि फसेका नेपाली मजदूरलाई तत्कालै स्वदेश फर्काउने विषयमा कुनै परिपत्र नआएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । 

सर्वोच्च अदालतले सीमापारि फसेका नेपालीको उद्धार गरी स्वदेशकै क्वारेन्टाइनमा राख्न आदेश दिएको भए पनि सरकारका तर्फबाट स्थानीय प्रशासनमा कुनै परिपत्र नआएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, “परिपत्र नआउँदासम्म भारतीय क्वारेन्टाइनमा बसेकालाई नेपाल ल्याउन सकिने अवस्था छैन ।” बैतडीसँग सीमा जोडिएका भारतको झुलाघाटका विभिन्न ठाउँमा २५० भन्दा बढी नेपाली मजदूर भारतीय क्वारेन्टाइनमा बसेका छन् । 

नेपाली मजदूरलार्ई स्वदेश फर्काउन सर्वोच्चले दिएको आदेशका बारेमा एफएम रेडियोबाट सुनेको र आफूहरुलाई छिट्टै स्वदेश फर्काउँछन् भन्ने आशा पलाएको बैतडीको पुर्चौंडी नगरपालिका–८ मल्लादेहीका दीर्घराज जोशीले बताउनुुभयो । “भारतीय क्वारेन्टाइनमा आफूहरुलाई खान, बस्न र पानीको निकै समस्या छ”, उहाँले भन्नुुभयो, “एकै कोठामा कोचाकोच गरेर बस्नु परिरहेको छ ।” 

कोरोनाको जोखिम न्यूनीकरणका लागि दूरी कायम गरेर बस्नुपर्ने भए पनि आफूहरु कोचिएर बस्नु परिरहेको अर्का नेपाली मजदूर रमेश जोशीको भनाइ छ । यस्तै पुर्चौंडी घर भएका पुष्कर बोहराले पनि आफूहरु १०० जति डिडिहाटमा अलपत्र परेको बताउनुुभयो । उहाँले भन्नुुभयो, “हामीलाई स्वदेशकै क्वारेन्टाइनमा राख्न आग्रह छ ।” सर्वोच्च अदालतले दिएको आदेश छिटो कार्यान्वयन गर्न पनि मजदूरले सरकारलाई आग्रह गरेका छन् । भारतीय क्वारेन्टाइनमा बसोबासको सहज व्यवस्था नहुँदा अझै पनि ट्युबमार्फत जोखिम मोलेर नेपाल फर्कने क्रम भने रोकिएको छैन । 

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली समस्यामा

लकडाउनपश्चात सीमा बन्द भएपछि भारतको झुलाघाटका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई बसोबासको समस्या भएको छ । क्वारेन्टाइनमा बसेका नेपालीलाई खानपिनको व्यवस्था भारतीय प्रशासनले गरेको भए पनि उनीहरु एकै कोठाको भुइँमा बस्नुपर्ने बाध्यता रहिआएको छ । सीमानाका बन्द भएपछि अलपत्र परेका नेपालीलाई भारतीय प्रशासनले क्वारेन्टाइनमा राखेको हो । 

दुई सय ५१ नेपाली मजदूरलाई झुलाघाटको तालेश्वर धर्मशाला, खरक्युडा, रज्युडा र जामीरपानीका आधारभूत विद्यालयका क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका नेपाली मजदूर आफैँसँग भएको कपडा बिछ्याएर भुइँमै सुत्न बाध्य भएको भारतबाट फर्केका सुर्नया–८ का मानबहादुर बोहराले बताउनुुभयो । उहाँले भन्नुुभयो, “क्वारेन्टाइनमा कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहिआएको छ ।” 

झुलाघाटका तीन ठाउँमा बसिरहेका नेपाली मजदूरले एकै कोठामा कोचाकोच गरेर बस्नुपरेको बताएका छन् । खानाको लागि भारत सरकारले व्यवस्था गरेको भए पनि बसोबासको भने निकै समस्या भएको पुरचौंडी नगरपालिका–३ न्वादेउका जोगे पार्कीले गुनासो गनुुभयोे । “एकै विद्यालयमा ८५ जना बस्नु परिरहेको छ”, उहाँले भन्नुुभयो, “हामीसँग भएको कपडा बिछ्याएर रात काट्नुपर्ने बाध्यता छ ।” स्वदेश फर्कन पाए एक महिना भने पनि क्वारेन्टाइनमा बस्न तयार भएको मजदूरले बताएका छन् ।

भारतमा क्वारेन्टाइनमा बसेका नेपाली मजदूरलाई समस्या भएको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिनुुभयो । क्वारेन्टाइनमा बसेका नेपालीको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताउनुुभयो ।

उद्धार गर्न सरकारलाई आग्रह 

नेपाल तरुण दल बैतडीले सीमानाकामा फसेका नेपाली मजदूरलाई तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । सीमामा अलपत्र परेका नागरिकको पीडा बुझेर तत्काल उद्धार गरी नेपालमै क्वारेन्टाइनमा राख्न तरुण दलले आग्रह गरेको हो । तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा सीमापारि नेपालीले ठूलो कष्ट भोगिरहेकाले उनीहरुलाई स्वदेश फर्काई क्वारेन्टाइनमा राख्न आग्रह गरिएको छ ।

दूधे बालकसहित महिला तथा पुरुष झुलाघाट र धार्चुलालगायतका सीमामा फसेकाले उनीहरूको उद्धार गरी स्वदेश फर्काउन पनि तरुण दलले आग्रह गरेको छ । 

अवैध प्रवेश रोक्न सीमामा सशस्त्र प्रहरी परिचालन 

भारतसँग सीमा जोडिएको बैतडीका सीमाक्षेत्रमा आवागमनमा कडाइ गरिएको छ । लकडाउनका बेला महाकाली नदीबाट अवैधरूपमा नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न नाकामा सशस्त्र प्रहरी परिचालन गरी आवागमनमा कडाइ गरिएको हो । जिल्लाका विभिन्न १० भन्दा बढी नाका(घाट)मा सशस्त्र प्रहरी परिचालन गरिएको हो ।  

सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म बैतडीबाट सीमा क्षेत्रमा पाँच टोली परिचालन भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिनुुभयो । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न सीमा क्षेत्रमा ६३ जनाको टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।  

शिवनाथको कुस्मतघाट र नागार्जुनघाट, पञ्चेश्वरको रोलघाट, हल्दुविनायक, धर्मघाट, विनायकघाट, रोडिदेवल र गिरेगडा र दशरथचन्द नगरपालिकाको बारोकोट र तिरखडेनीमा गरी पाँच टोली परिचालन गरिएका छन् । लकडाउनमा सीमानाका बन्द भएपछि भारतबाट अवैधरूपमा महाकालीमा ट्युबमार्फत नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्रको टोली परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुुभयो । अवैधरूपमा नेपाल भित्रिने क्रम रोक्न सीमामा अस्थायी चेक पोइन्ट स्थापना गरी उच्च सतर्कता अपनाइएको उहाँले बताउनुुभयो । 

सशस्त्र प्रहरी परिचालनले सीमानाकाको आवागमनमा कडाइ भएको छ । लकडाउनका बेला अवैधरूपमा भारतबाट आएका सुदूरपश्चिमका नागरिकमा कोरोना सङ्क्रमण देखा परेपछि सीमा क्षेत्रमा आवागमनमा कडाइ गरिएको हो । सीमा क्षेत्रका आवागमनमा कडाइ गर्न आवश्यकताअनुुसार थप सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस