जलविद्युत् आयोजना : कतै धमाधम, कतै ठप्प

आइतबार, ३० चैत्र २०७६, ०८ : ११
जलविद्युत् आयोजना : कतै धमाधम, कतै ठप्प

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट उत्पन्न सङ्कटले निम्त्याएको बन्दाबन्दी (लकडाउन) भए पनि कतिपय जलविद्युत् आयोजनामा धमाधम काम भइरहेका छन् । केही भने ठप्प छन् । काम ठप्प भएका आयोजनाले तुरुन्तै काम सुरु नगर्ने हो भने चालू आर्थिक वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएका कतिपय आयोजनालाई कठिन हुने भएको छ ।

चालू आर्थिक वर्षको असार मसान्तभित्र राष्ट्रिय प्रसारण लाइनमा थप एक हजार मेगावाट जोड्ने लक्ष्य राखिएको छ । चालू आर्थिक वर्षको हालसम्म सरकारी तथा निजी क्षेत्रबाट १२२ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान भइसके पनि एक हजार मेगावाटको लक्ष्यसम्म पुग्न निकै गाह्रो हुने स्थिति छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भन्नुभयो, “चालू आर्थिक वर्षको यो अवधिसम्म १२२ मेगावाट प्रसारण लाइनमा जोड्न सकिएको छ ।

लकडाउनको अवस्थामा प्रभावकारी रूपमा काम गर्न नसकिए पनि अझै थप २५० मेगावाटसम्मका आयोजनालाई सम्पन्न गर्न सकिन्छ भन्ने आशा राखेका छौँ । तर एक हजार मेगावाटको लक्ष्य भेट्टाउन भने नसकिने स्थिति उत्पन्न भयो ।” सचिव घिमिरेका अनुसार निर्माण सम्पन्न हुनै थालेका कतिपय आयोजनामा आवश्यक सामग्री छैन । कतिपय आयोजनामा सामग्री भए पनि कामदारले काम गर्न मानेका छैनन् । सबैतिर मनोवैज्ञानिक त्रास छ । उहाँले थप्नुभयो, “नेपालभित्रको स्थितिलाई त हामीले नियन्त्रणमा लिएर काम गर्न सकिएलास जलविद्युत् आयोजनाका लागि कतिपय यन्त्र, उपकरण भारत तथा तेस्रो मुलुकबाट ल्याउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा निर्धारित समयमा काम सम्पन्न गर्न गाह्रो हुने स्थिति देखिँदैछ ।”

नेपाल विद्युत् प्राधिकरण र प्राधिकरणका भगिनी संस्थाद्वारा प्रवद्र्धन गरिएका जलविद्युत् आयोजना हुन् वा निजी क्षेत्रबाट प्रवद्र्धन भएका आयोजना हुन्स लकडाउनका कारणले कच्चा पदार्थको उपलब्धता, ढुवानी, कामदारको उपस्थिति, इन्धन उपलब्धता लगायतका समस्याले निर्माणको अन्तिम चरणमा पुगेको जलविद्युत् आयोजनाको काम प्रभावित भइरहेका छन् ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाको कामलाई असर नपर्ने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन तथा सहजीकरण गरिरहेको भए पनि लकडाउनसँगै उत्पन्न जटिल परिस्थितिले सोचेअनुसार कार्यक्षेत्रमा काम हुन नसकेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । उहाँले भन्नुभयो, “जताततै त्रास छाएको छ तर पनि केही जलविद्युत् आयोजनामा हाल पनि सुरक्षित ढङ्गले काम भइरहेको छ, काम रोकिएको त छैन ।”

भौतिक प्रगति हेर्दा ९९।४ प्रतिशत काम सम्पन्न भइसकेको माथिल्लो तामाकोसीमा कोरोना त्रासका कारण काम गर्ने जनशक्तिले मन खुलेर काम गर्न सकेको छैन । निर्माण सामग्री आयातमा सहज नभएकाले पनि समस्या झन् थपिएको छ । तामाकोसी, मेलम्ची लगायतका कामदारको ठूलो समूह काम गर्ने स्थानमा सुरक्षाका सबै मापदण्ड अपनाएर काम सुचारु गर्न सरकारले निर्देशन दिए पनि त्रासले कामदारहरूबीच काम गर्ने वातावरण बन्न नसकेको बताइएको छ । गोरखापत्र दैनिकमा खबर छ ।