लकडाउनमा इँटाभट्टामा ल्याइयो २४ ट्रक कोइला

रासस

शनिबार, २९ चैत्र २०७६, २१ : १८
लकडाउनमा इँटाभट्टामा ल्याइयो २४ ट्रक कोइला

काठमाडौं । देशभर ‘लकडाउन’ भइरहेका बेलामा भक्तपुरका इँटाभट्टा सञ्चालकले २४ वटा गाडीमा भारतबाट कोइला र मजदूर ल्याएका छन् ।    चाँगुनारायण नगरपालिकाभित्र सञ्चालनमा रहेका इँटाभट्टाले लकडाउनका बेलामा कोइला बोकेका दुई दर्जन ट्रक भित्राएका हुन् । भारतसँग सीमा जोडिएका भैरहवा, विराटनगर र पर्सामा लोड भई गएराति र आज बिहान ती ट्रक भक्तपुर भित्रिएको चाँगुनारायण नगरपालिकाले जानकारी दिएको छ । 

यहाँका इँटाभट्टालाई आवश्यक कच्चा खनिज सामग्रीका रुपमा कोइला बोकेर आज बिहान ती ट्रक यहाँका भट्टामा आइपुगेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । सुँडाल र ताँथलीचलेका रामसुन्दर प्रजापतिको सरस्वतीमाता, गङ्गाराम रञ्जितकारको सरस्वती शक्ति, हरि अवालको यातुमहादेव, सत्यराम गाइजुको माझी, बाबुकाजी कोजुको मञ्जुश्री, महेन्द्र खायमलीको बिटीएम, शङ्करलगायतका इँटाभट्टाले कोइला ल्याएका हुन् । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सरकारले गरेको उद्योग सञ्चालन गर्न पाउने निर्णयलाई टेकेर भट्टा सञ्चालन भएको सञ्चालकले दाबी गरेको बताउनुभयो । सरकारले छ वटा मापदण्ड पूरा गर्नुपर्ने शर्त राखे पनि ती मापदण्ड पूरा नभएको तर काठमाडौँ र ललितपुरमा पनि भट्टा सञ्चालन भइरहेकाले यहाँका व्यवसायीले बन्द गर्न अटेर गरेको उहाँको भनाइ थियो । 

दुई दिनमा कोइला बोकेर २४ वटा गाडी भक्तपुर आएको आफूले जानकारी पाएको भन्दै प्रहरीमार्फत भट्टाको अनुगमन भइरहेको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । कोइला बोकेका एक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको र ट्रक चालकसँग सोधपुछ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो । सवारी पाससमेत नलिइ भित्रिएका कोइला बोकेका ट्रकले उद्योग सञ्चालनका लागि अत्यावश्क कच्चा पदार्थ ढुवानी भन्दै कोइला ओसारेको जानकारी दिनुभयो । 

तरकारी, खाद्यान्न, औषधिलगायतका अत्यावश्यक सामान लिएर आउने ट्रकसँग कोइला बोकेको ट्रक पनि आएको उहाँको दाबी छ । आज र हिजो कोइला लिएर आएका ट्रक कोइला झारेर फर्किएका छन् । इँटाभट्टाले सरकारले निर्धारण गरेको मापदण्ड पुरा नगरेको र अहिले पनि एउटै भट्टामा कम्तीमा १५० मजदूर एकै ठाउँमा बसेर काम गरिरहेका छन् । 

कोरोना सङ्क्रमणको जोखिमको बेवास्ता गर्दै रातारात सवारी पासबिना नै भट्टा सञ्चालकले कोइला बोकेर ट्रक र त्यसमा रहेका भारतीय मजदूरसहित सामान भित्रिएपछि स्थानीय त्रसित बनेको चाँगुनारायणका नगरप्रमुख मिश्रले बताउनुभयो । 

विश्वव्यापी महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसविरुद्ध लड्न सरकारले लकडाउन जारी गरेका अवस्थामा यसरी ठूलो सङ्ख्यामा सवारी आवागमन हुनु र त्यसमा कार्यरत मजदूरसमेतको आवागमन हुनु जोखिमपूर्ण रहेको उहाँको भनाइ थियो । 

सरकारले धेरै सङ्ख्यामा जम्मा नभई सानो सङ्ख्यामा मजदूरद्वारा उद्योग, कलकारखाना सञ्चालन गर्ने निर्णय गरेकोमा भट्टा अत्यावश्यक व्यवसायभित्र नपर्ने भए पनि उद्योगमा मजदूर जम्मा गरेर भट्टा सञ्चालन गरिरहेको नगरप्रमुख मिश्र बताउनुहुन्छ । अहिले पनि ७५ वटा गाडीमा कोइला लोड भइरहेको र ती गाडी दुई÷तीन दिनमा काठमाडौँ भित्रिन तयारीमा रहेको आफूले जानकारी पाएको उहाँको भनाइ छ । चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष परासर सापकोटाले कोरोनाको जोखिम भएका बेलामा पनि दर्जनौँ ट्रक र ट्रकका मजदूर भट्टामा आउँदा कोरोना सङ्क्रमणको जोखिम उच्च हुनेतर्फ भट्टा सञ्चालकले बेवास्ता गरेको र प्रहरी प्रशासन मूकदर्शक भएर बसेको आरोप लगाउनुभयो ।  

 स्थानीय दामोदर दङ्गालले लामो दूरी प्रयोग गरी कच्चा सामग्री ल्याउने काम तत्काल बन्द गर्नुपर्ने भन्दै भट्टाले ल्याएका कच्चा सामान नियन्त्रणमा लिएर कारवाही गर्न माग गर्नुभयो । अर्का स्थानीय राजेश खड्काले कोरोना सङ्क्रमणको कारण विश्वसमुदाय आक्रान्त बनिरहेको अवस्थामा भट्टा व्यवसायीले आफ्नो स्वार्थका कारण स्थानीयवासीको ज्यान जोखिममा पार्दै अवैधरुपमा कोइला ल्याउन रोक्नुपर्ने र ल्याएकालाई कारवाही गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस