‘प्याडलाई सुलभ बनाए र फोर्ब्समा सूचीकृत’

आइतबार, २३ चैत्र २०७६, ०७ : २७
‘प्याडलाई सुलभ बनाए र फोर्ब्समा सूचीकृत’

काठमाडौँ । नेसनल ल युनिभरसिटी दिल्लीबाट स्नातक गरेर जेसलीना राणा दुई वर्षअघि नेपाल फर्किइन् । शुभाङ्गी राणा पनि त्यही समय नेसनल इन्स्च्युट अफ इन्डिया, हैदरवादबाट सिभिल इन्जिनियरिङ सकेर नेपाल आएकी थिइन् । उनीहरुको चिनजान थिएन ।

एउटा सामूहिक जमघटमा संयोगले चिनापर्ची भयो। पढाईको सिलसिलामा दुवै लामो समय नेपाल बाहिर बसे। त्यसैले स्वदेश फर्केर ‘केही गरौं’ भन्ने हुटहुटी थियो। तर, के गर्ने, टुंगो थिएन। जेसलीनालाई मावनअधिकार र महिला सशक्तिकरणको क्षेत्रमा रुचि थियो, शुभाङ्गीलाई इन्जिनियरिङ र सरसफाईमा। समाजमा प्रभाव देखिने काम गर्नुचाहिँ दुवैको साझा रोजाई।

केही समय घोत्लिएपछि दुवैको चाह सम्बोधन हुने आइडिया फुर्‍यो– रजस्वला हुँदा अत्यावश्यक पर्ने प्याडमा महिलाको पहुँच सहज बनाउने। त्यसका लागि स्यानिटरी न्याप्किन भेन्डिङ मेसिन वितरण गर्ने। यही सपनालाई मूर्त बनाउन स्थापना गरे– प्याडटूगो, अक्टोबर २०१८ मा। ‘प्याडटूगो’कै कारण कोभिड–१९ को त्रासबीच शुभाङ्गी र जेसलीना सुखद समाचारको स्रोत बनेका छन्।

अमेरिकी म्यागजिन फोर्ब्सले घोषणा गरेको एसियाका प्रभावशाली युवाहरुको सुचीमा शुभाङ्गी र जेसलीना पनि परेका छन्। ‘द फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२०’ मा उनीहरुसँगै नेपालका युवा उद्यमीहरु निकिता आचार्य र किरण तिम्सिना ९अर्वन गर्ल०, रोहित तिवारी ९फुडमारियो० र प्रतिमा शेर्पा ९गल्फर० अटाएका छन्। शुभाङ्गीले शनिबार कान्तिपुरसँग खुशी साटिन्, ‘यति छिट्टै फोर्ब्सको सुचीमा परिएला भन्ने कल्पनै थिएन। एकदम गर्व महसुस भइरहेको छ।’

यो खबर शुभाङ्गीलाई जेसलीनाले सुनाएकी थिइन्। ‘काठमाडौंमै छौं तर लकडाउनका कारण भेटेर खुशीयाली मनाउन पाएका छैनौं। फोनमा धेरै कुरा गरेर चित्त बुझाइयो,’ शुभाङ्गीले सुनाइन्। जब ‘प्याडटूगो’ सुरु गरे, फोर्ब्समा पुग्ने सपना देख्न थाले। तर, ठूलो समूदायका लागि प्रभावकारी काम नगरी त्यहाँ पुगिन्न भन्ने थाहा थियो उनीहरुलाई। पहिले बाजुराको दुर्गम भेगमा शौचालय बनाउने अनि फोर्ब्समा आवेदन दिने योजना बुनेका थिए।

फोर्ब्सको प्रभावशाली सुचीका लागि कि आफैं आवेदन दिनुपर्छ कि कोही आधिकारिक व्यक्तिले नोमिनेसन गर्नुपर्छ। उनीहरुलाई चाहिँ फोर्ब्स इन्डियामा कार्यरत कर्मचारीले अन्तरवार्तापछि सिफारिस गरेका थिए। तीन महिना अगाडि फाइनल राउन्डमा छानिएको जानकारी पाएका थिए। ‘तर, अन्तिम सुचीमा परेकोचाहिँ फोर्ब्सको अनलाइनमा प्रकाशित भएपछि मात्र थाहा पायौं,’ जेसलीनाले भनिन्।

गत वर्ष उनीहरु स्वीट्जरल्यान्डमा ‘अगुसन वर्कसप’ मा प्रथम भएका थिए। लगत्तै महिलाले नेतृत्व गरेको एसियाभरका स्टार्ट–अपको सिंगापुरमा प्रतियोगितामा भएको थियो, जहाँ ‘प्याडटूगो’ ले दोस्रो स्थान हासिल गर्‍यो। यही सफलतालाई फोर्ब्सको सुचीले नयाँ उचाईमा पुर्‍याएको छ। कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस