- केदार मगर
खोटाङ । कोरोना भाइरस (कोभिड –१९ )को सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ । अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि ती क्षेत्रका व्यवसायी मारमा परेका हुन् ।
‘लकडाउन’का कारण हाल जिल्लाका ९÷१० जना अण्डा उत्पादक व्यवसायी र ४० भन्दा बढी ब्रोइलर कुखुरा व्यवसायीले उत्पादन गरेको मासु तथा अण्डाको किनमेल ठप्प भएको पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष सुवास जोशीले जानकारी दिनुभयोे । “दैनिक २० क्यारेट अण्डा र ३०० केजी मासु बिक्री हुने गथ्र्यो”, उहाँले भन्नुभयो, “दिक्तेल बजारमा हाल अण्डा तथा मासु बिक्री वितरण ठप्प भएको छ ।”
करीब १२ हजार वटा तयारी खुकुरा खोरमै राखिएको व्यवसायीहरुले बताएका छन् । अवधि पुगेको र मासुका लागि तयारी भइसकेको कुखुराले दाना मात्र खर्च गरिरहेको त्रिशक्ती पोल्ट्री फर्मका सञ्चालकसमेत रहनुभएका सङ्घका अध्यक्ष जोशीले बताउनुभयो । सीमित अवधिभित्र उपयोग गरिसक्नुपर्ने अण्डा तथा मासुलाई लामो समयसम्म मौज्दातमा राख्दा खेर फाल्नुपर्ने अवस्था आउने सङ्घका अध्यक्ष जोशीले बताउनुभयो । “सीमित अवधि भएका अण्डा खेर जाने अवस्था भएपछि कतिपय व्यवसायीले सस्तो मुल्यमा र कतिपयले आफन्त तथा छिमेकीलाई सित्तैमा दिने गरेका छन्”, उहाँले भन्नुभयो, “लकडाउन हाम्रो जीवनकै सवालमा छ, हाम्रो लागि हो । तर व्यवसायिक हिसाबले पोल्ट्री व्यवसायीलाई एकदमै तनाब बनाएको छ ।”
जिल्लामा हाल कुखुराका लागि दानाको पनि अभाव व्यवसायीहरुले बताएका छन् । ‘लकडाउन’को अवधिमा ढुवानीका सवारी साधन नचलेको तथा दाना उत्पादक उद्योग नै बन्द रहेकाले जिल्लामा दानाको समेत अभाव शुरु भएको रुपाकोट पोल्ट्री फार्मका सञ्चालक राम बजगाइँले बताउनुभयो । व्यवसायीका अनुसार उत्पादन भएको अण्डा २० दिनदेखि महिना दिनभित्र उपयोग गरिसक्नुपर्ने हुन्छ । यस्तै, करीब ४० दिनदेखि बजारमा पु¥याउनुपर्ने कुखुरा ६०–७० दिनभित्र बिक्रीवितरण गरिसक्नुपर्ने हुन्छ ।
अण्डाका लागि दिक्तेलमा करीब पाँच हजार लेयर्स कुखुरा पालिएका छन् । दिक्तेल बजारमा पालिएका लेयर्सबाट करीब दैनिक १९ काटन अण्डा उत्पादन हुने गरेको व्यवसायीहरुले बताएका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै