७२ दिनमा ११३३ जनाको कोरोना परीक्षण

पत्रपत्रिकाबाट

विहीबार, २० चैत्र २०७६, ०८ : २७
७२ दिनमा ११३३ जनाको कोरोना परीक्षण

काठमाडौं । ७२ दिनको अवधिमा १ हजार १ सय ३३ जनाको कोरोना भाइरस (कोभिड–१९) नमुना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये विदेशबाट आएका पाँच जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित पाँचमध्ये एक जना निको भएर घर फर्किसकेको र चार जनाको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको बताए ।

२० जनवरीबाट नेपालमा कोरोना परीक्षण सुरु भएको थियो । चीनको वुहानबाट नेपाल आएका एक नेपाली युवामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ७३ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार देशभर ९९ जना आइसोलेसनमा उपचाररत छन् । संक्रमणको पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेकाहरुको पनि नमुना संकलन हुँदै आएको छ । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस