लकडाउन : मिर्गौलाका बिरामी मारमा

मंगलबार, १८ चैत्र २०७६, ११ : १४
लकडाउन : मिर्गौलाका बिरामी मारमा

काठमाडौं । कोभिड–१९ को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन् । नियमित डायलोसिस गर्नुपर्ने बिरामी लकडाउनका कारण सवारी सञ्चालन नभएपछि चिन्तामा परेका हुन् ।

दमौली अस्पतालमा रहेको शत्रुधन मन्जु डायलोसिस केन्द्रमा डायलासिस गर्नका लागि बिरामीलाई एम्बुलेन्स रिजर्भ गरेर आउनुपर्ने बाध्यता छ । लकडाउनको कारण सवारी साधन नचलेपछि एम्बुलेन्स भाडामा लिएर डायलोसिस गर्न आउनुपरेको व्यास नगरपालिका–६ सिसाघाटका देवबहादुर गुरुङले गुनासो गर्नुभयो । सामान्यावस्थामा रु ३० देखि ५० भाडा तिरेर दमौली आउने गरे पनि  अहिले एम्बुलेन्स भाडामा लिँदा रु एक हजारदेखि एक हजार पन्ध्रसम्म खर्च हुने गरेको उहाँको भनाइ छ ।

“सवारी साधन नचलेपछि महँगो भाडा तिरेरै भए पनि डायलोसिस गराउन जानैप¥यो,” उहाँले भन्नुभयो, “आफ्नै मोटरसाइकल पनि थियो तर लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लियो ।” उहाँले हप्तामा दुई पटक डायलोसिस गराइरहनुभएको छ ।

सवारी साधन नचलेपछि मालवाहक ट्रक चढेर डायलोसिस गराउन आउने गरेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका अनिशा सुवेदीले बताउनुभयो । “प्रहरीको सहयोगमा ट्रकमा दमौलीसम्म आएर डायलोसिस गराइरहेको छु,” उहाँले गुनासो गर्नुभयो, “लकडाउनका कारण डायलोसिस गराउन समस्या परेको छ ।”

म्याग्दे गाउँपालिका–१ गुणादीका दिलशोभा रानाले आफन्तको मोटरसाइकल चढेर डायलोसिस गराउन आउने गरेको बताउनुभयो । “प्रहरीले रोकेको बेला डायलासिस गराउन आएको हुँ भनेर भनिरहेको छु”, उहाँले भन्नुभयो । 

मिर्गौलापीडितले नियमित रुपमा डायलोसिस गराउनुपर्ने भएकाले लकडाउनको बेला पनि डायलोसिस गर्ने बिरामीको सङ्ख्या नघटेको डायलोसिस केन्द्रका इञ्चार्ज शैलेश पण्डितले जानकारी दिनुभयो । “लकडाउनले बिरामीलाई सास्ती त भएको छ तर नियमित डायलोसिस गराउनुपर्ने भएकाले जसोतसो आइरहनुभएको छ,” उहाँले भन्नुभयो ।

विसं २०७२  मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलोसिस केन्द्र स्थापना भएको थियो । केन्द्रले चार वर्षका अवधिमा २४ हजार ९८६ पटक डायलोसिस सेवा प्रदान गरेको छ । पण्डितका अनुसार केन्द्रबाट हालसम्म २१०  मिर्गौलापीडितले डायलोसिस सेवा लिएका छन् । केन्द्रमा नियमित डायलोसिस गराउने मिर्गौलापीडितको सङ्ख्या भने ७२  छ । पण्डितका अनुसार हप्तामा दुई पटक डायलोसिस सेवा लिने मिर्गौला पीडित ६६ र हप्तामा तीन पटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६ जना  छन् । केन्द्रमा  डायलासिस गराउने नौ उपकरण छ । 

हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलोसिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधनका स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६  डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीन उपकरण थप गरिएछि केन्द्रमा हाल नौ डायलोसिस उपकरण छ ।

प्रतिक्रिया दिनुहोस