पोखरामा खाद्यान्न आपूर्तिलाई सहज बनाइने

रासस

आइतबार, १६ चैत्र २०७६, २१ : ५६
पोखरामा खाद्यान्न आपूर्तिलाई सहज बनाइने

काठमाडौं । पोखरा महानगरपालिकाले गठन गरेको खाद्यान्न तथा स्थानीय व्यवस्थापन समितिका संयोजक लेखबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकले खाद्यान्नलगायत आवश्यक दैनिक उपभोग्य वस्तु सहज बनाउने निर्णय गरेको छ ।  वडा नम्बर १० देखि १६ र २० मा समन्वय गर्ने जिम्मेवारी पाएको उक्त समितिको बैठकले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि ती वडामा विदेशबाट आएकाको विवरण संकलन गरी महानगरपालिकामा पठाउने निर्णय पनि गरेको संययोजक तामाङले जानकारी दिनुभयो । 

लकडाउनका समयमा  खाद्यान्न र अत्यावश्यक  सामग्री आपूर्ति व्यवस्था सहज बनाउन सम्बन्धित वडाध्यक्षको नेतृत्वमा वडाका खाद्यान्न भण्डार तथा आवश्यक सामग्रीको मौज्दातको विवरण संकलन गर्ने पनि बैठकले निर्णय गरेको छ । 

वडा नम्बर १३ का अध्यक्ष तामाङको संयोजकत्वमा गठित समितिका सदस्यमा वडा नम्बर १० देखि १६ र वडा नम्बर २० का वडाध्यक्ष, पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधि, वडा प्रहरी कार्यालय रामबजारका प्रतिनिधि र स्वास्थ्य महाशाखाका हरिलाल आचार्य सदस्य छन् । 

यसैबीच कोभिड–१९) संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनबाट दैनिक ज्यालादारी गरेर जीवन गुजारा गरिरहेका मजदूर समस्यामा परेकाले राहत कार्यक्रम ल्याउन नागरिक समाजका सञ्जाल कास्कीले सरकारसमक्ष आग्रह गरेको छ । 

सञ्जालका तर्फबाट गैसस महासंघ नेपालका महासचिव  रामप्रसाद सुवेदी, शान्तिका लागि नागरिक समाजको सञ्जालका कास्कीका संयोजक  विष्णुप्रसाद बराल,    इ न्सेक गण्डकी प्रदेश कार्यालय पोखराका संयोजक शिवप्रसाद खकुरेल, मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष कमलप्रसाद अर्याल, गैसस महासंघ नेपाल गण्डकी समिति अध्यक्ष विना सिलवाल, चिल्डे«न नेपालका निर्देशक रामचन्द्र पौडेल, मानवअधिकार समूह कास्कीका संयोजक श्यामनाथ कुँवर र गैसस महासंघ नेपाल कास्की शाखा अध्यक्ष पदमराज पहारीबाट हस्ताक्षरित  विज्ञप्तिबाट उक्त अपिल गरिएको हो ।