कोरोना भाइरस : सुरक्षाकर्मी कति सुरक्षित ?

रासस

शुक्रबार, १४ चैत्र २०७६, १८ : ३१
कोरोना भाइरस  : सुरक्षाकर्मी कति सुरक्षित ?

फाईल फोटो

काठमाडौं । भीडभाड होस् या कुनै घटना ‘फ्रन्ट लाइन’मा उभिने सुरक्षा निकाय नै हो । विश्वका मानिस कोरोनाको कहरमा रहेको वर्तमान परिस्थितिमा प्रहरीको भूमिका अझै बढ्छ । केही दिनअघि भारतीय सीमा क्षेत्रमा अड्किएका नेपालीले प्रदर्शन नै गरेका थिए । उनीहरुलाई नियन्त्रण गर्न प्रहरीला हम्मेहम्मे भएको थियो । क्वारेन्टाइनमा बसेका नेपालीहरुको भागाभाग हुँदा पनि प्रहरी नै भीड नियन्त्रणमा खटिनुपरेको थियो ।

यस्तो परिस्थितिमा भीडभाड नियन्त्रणका लागि अग्र–पङ्क्तिमा खटिनुपर्ने सुरक्षाकर्मी आफू चाहिँ कति सुरक्षित ? मास्क र सामान्य पञ्जाले मात्रै जोखिमबाट सुरक्षित होला ? सुरक्षाकर्मी एक जनामा रोग देखियो भने अन्य व्यक्तिमा सर्नसक्ने सम्भावना अधिक हुन्छ । “हामी जस्तो सुकै परिस्थितिमा पनि नेपाल र नेपालीको सुरक्षामा खटिन्छौँ, हाम्रो प्रण हो, तर मनोबल बढाउने काममा नेतृत्व गम्भीर हुनुपर्छ”, काठमाडौँको सडकमा सुरक्षार्थ खटिएका एक प्रहरी जवान अनुभव सुनाउँदै भन्नुभयो । उहाँ हातमा पञ्जासमेत नलगाई सुरक्षामा खटिनुभएको थियो । 

हर मान्छे निस्किन्छन् । समाएरै लैजानुपर्ने बाध्यता हुन्छ । दूरी कायम नगर्दा जोखम बढी हुन्छ । मुलुकभर सुरक्षामा खटिएका नेपाल प्रहरीले आफ्नो सुरक्षाका लागि सेनिटाइजर र मास्क बाहेक अरू स्वास्थ्य सुरक्षामा गम्भीर भएको पाइँदैन । सशस्त्र प्रहरीको पनि अवस्था उस्तै छ । यस्तो परिस्थितिमा मनोबल उच्च बनाउनका लागि पनि प्रोत्साहन भत्ता दिनुपर्ने कतिपयले बताएका छन् । 

प्रहरी निरीक्षकभन्दा माथिल्लो तहका प्रहरी कर्मचारीलाई भन्दा पनि परिवार नभनी दिनरात सुरक्षामा लागेका तल्लो तहका कर्मचारीको विषयमा सरकारको ध्यान जानुपर्ने कपिपयले गुनासो गरेका छन् । 

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल उनीहरुको मनोबल नगिरोस् भन्नेमा नेतृत्व सचेत रहेको बताउनुहुन्छ । “सङ्गठनका उच्च तहका अधिकृतहरु सँगसँगै खटिएका छौँ, जुन उहाँहरुको मनोबलमा आँच नआओस् भन्ने नै हो”, पोखरेलले भन्नुभयो । 

“सबैको भोगाई उस्तै हो, सरकारको आदेश उल्लङ्घन नगर्नुस् भनेर नजिक गएर बोल्नुपर्छ, सामान्य कपडाको मास्क लगाएर दैनिक रुपमा सुरक्षामा खटिनुपर्छ, सबै घरबासमा बसेका बेला रातदिन

सरकार र जिल्ला सुरक्षा समितिको निर्देशनअनुसार आवश्यक मात्रामा टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालका प्रहरी नाबय महानिरीक्षक प्रविणकुमार श्रेष्ठ बताउनुहुन्छ । प्रहरीलाई सबैभन्दा जोखिम छ, त्यसैले केही सावधानी अपनाउँदै सानो टोली बनाएर परिचालन हुने, अधिकतम गाडीको प्रयोग गर्ने, मोटरसाइकल प्रयोग गर्ने गरिएको र सूचना लिने काममा बढी सक्रिय भएको उहाँले जानकारी दिनुभयो । 

उहाँ प्रहरीको मनोबल उच्च गराउन विश्वमा प्रयोग गरिएको प्रोत्साहन भत्ता पनि आवश्यक छ भन्नुहुन्छ । सुरक्षा निकायका तर्फबाट प्रोत्साहन भत्ताका लागि प्रस्तावसमेत पेश भएको बताइएको छ ।अहिले सडकमा आउनु कतिपयकोे रहर देखिन्छ । प्रहरीको भने कर्तव्यसँगै बाध्यता छ । जोखिमपूर्ण अवस्थामा सुरक्षामा खटिएको प्रहरीको तलब काट्ने कुरा पनि सुनिरहेकाले त्यसरी तलब काट्न असर पर्ने चिन्ता तल्लो तहका प्रहरी कर्मचारीको छ । 

प्रहरीद्वारा नछोइ पक्राउ गर्न सकिने डिभाइसको प्रयोग 
आजबाट काठमाडौँमा नेपाल प्रहरीले नछोइकन पक्राउ गर्न सकिने डिभाइसको प्रयोग थालेको छ । सडकमा अनावश्यक रुपमा हिँडेकालाई पक्राउ गर्न काठमाडौँ प्रहरीले उक्त डिभाइसको प्रयोग थालेको हो । 

आजदेखि शुरु भएको उक्त डिभाइसलाई ‘मल्टी फङ्क्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’ भनिन्छ । यसले केही मिटरको दूरीबाटै मानिसलाई नियन्त्रणमा लिन सहयोग गर्छ । जसका कारण मानिसलाई छोइरहनु पर्दैन । यसले रोगबाट बच्न सहयोग गर्ने विश्वास गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले बताउनुभयो । 

आज पहिलो दिन छ वटा डिभाइस प्रयोग गरिएको छ । मानिसहरु सरकारी आदेश नमानी हेल्चेक्र्याइ गरेर सडकमा हिँड्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिन यसरी डिभाइसको प्रयोग गरिएको हो । प्रहरी प्रधान कार्यालयमा भएका अन्य डिभाइसलाई समेत प्रयोग गर्ने तयारी नेपाल प्रहरीको छ ।