एजेन्सी । एक महिनाअघिसम्म तीव्र गतिमा कोरोना भाइरस फैलिएको मुलुक थियो, दक्षिण कोरिया । त्यहाँ एउटा चर्चबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो ।
यो समाचार सामग्री तयार पार्दासम्म दक्षिण कोरियामा जम्मा नाै हजार ३७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यहीकारण दक्षिण कोरियाली प्रधानमन्त्री चुङ स्ये क्युनले देशमा संकटकालीन अवस्था आएको टिप्पणी गरेका छन् ।
कोरोना संक्रमण देखिएका क्षेत्र डेगु र चङ्डोलाई ‘विशेष हेरचाह क्षेत्र’ घोषणा गरिएको छ । यी क्षेत्रबाहेक अन्यत्र दक्षिण कोरियाको जनजीवन सामान्य छ । न्युयोर्क टाइम्सका अनुसार अर्थतन्त्र बन्द नगरीकन पनि कोरोना नियन्त्रण गर्न सकिन्छ भन्ने पाठ दक्षिण कोरियाबाट सिक्नुपर्छ ।
ठूलो संख्यामा संक्रमित देखिए पनि अन्यत्रको जस्तो ठूलो ‘लकडाउन’ नगरीकनै दक्षिण कोरियाले कोरोना नियन्त्रणमा लिएको छ । त्यहीकारण कोरोना भाइरसबाट संक्रमितहरूको संख्या १० हजार पनि नाघ्न सकेको छैन । आखिर दक्षिण कोरियाले त्यस्तो के गर्यो, जसका कारण दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण त्यति साह्रो फैलिन पाएन ?
दक्षिण कोरियाले कोरोना संक्रमणलाई थप फैलिन नदिन अपनाएका उपाय निम्नबमोजिम छन् :
संकट आउनुअगावै हस्तक्षेप
जनवरीको अन्तिमतिर कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएपछि कोरियाले स्वास्थ्यकर्मीसँग घनीभूत संवाद गर्यो । त्यसक्रममा कोरोना जाँच गर्ने ‘किट’ ठूलो संख्यामा उत्पादन गर्ने निर्णय भयो ।
लगत्तै दैनिक एक लाख कोरोना जाँच गर्ने किट उत्पादन हुन थाल्यो । दक्षिण कोरिया ती किट अहिले अन्य देशमा निर्यात गर्ने तयारीमा समेत लागेको छ ।
छिटो र धेरै जाँच
दक्षिण कोरियाले कोरोना जाँच गर्ने किट अत्यधिक संख्यामा त उत्पादन ग-यो नै, अन्य देशको तुलनामा कोरोनाबाट संक्रमित भएका छन् कि छैनन् भन्ने विषयमा धेरै मानिसमा परीक्षण पनि गर्यो ।
प्रतिव्यक्ति दरले भन्ने हो भने अमेरिकाको तुलनामा दक्षिण कोरियाले ४० गुणा बढी मानिसमा परीक्षण गरेको थियो । २३ मार्चसम्म उसले ३ लाखभन्दा बढी मान्छेको परीक्षण गरिसकेको छ । धेरै मानिसमा परीक्षण गर्दा संक्रमण फैलिए–नफैलिएको छिटो जानकारी पाउन मद्दत पुग्यो ।
सम्पर्क ट्रेसिङ, आइसोलेसन र निगरानी
कोरोना संक्रमण देखिएका व्यक्तिको सम्पर्कमा आएका व्यक्ति छिटोभन्दा छिटो पत्ता लगाउने, तिनको जाँच गर्ने, आइसोलेसनमा राख्ने र शंकास्पद व्यक्तिलाई निगरानीमा राख्न दक्षिण कोरियाले आफ्नो इपिडिइमियोलोजी सेवालाई प्रहरीको अनुसन्धान शैली जसरी नै प्रयोग गर्यो ।
‘जिपिएस'द्वारा फोन ट्रयाक
कुनै पनि क्षेत्र र जिल्लामा संक्रमित देखिएमा त्यो क्षेत्रमा बसोवास गर्ने सबै व्यक्तिको फोनमा सूचना पठाइयो । र, शंका लागेमा परीक्षणका लागि आउन भनियो । वासिंगटन पोष्टका अनुसार संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको ‘ग्लोबल पोजिसनिङ सिस्टम’ (जिपिएस) बाट फोन ट्रयाक गरियो । संक्रमित व्यक्ति परीक्षण हुनुअघि कहाँ गएको थियो भनेर सार्वजनिक वेबसाइटमार्फत जानकारी दिइयो । यसले गर्दा मान्छेलाई परीक्षण गराउन सहज भयो ।
नागरिकलाई सहायता
दक्षिण कोरियासँग सार्वजनिक स्थलमा तापक्रम मापक यन्त्र धेरै छैनन् । स्वास्थ्यकर्मी पनि धेरै छैनन् । तर, उनीहरूले विभिन्न सञ्चारमाध्यमबाट कोरोना सचेतना जानकारी गराइरहे । बारम्बार जनतालाई परीक्षणका लागि आग्रह गरे । लकडाउन गरिएका दुईवटा सहरका जनताको आवश्यकता सोधिरहे ।
यसैको परिणाम हो, अहिले दक्षिण कोरियामा दैनिक १५ हजारले कोरोना भाइरसको संक्रमण भए–नभएको परीक्षण गर्ने गरेका छन् । दक्षिण कोरियाको मोडलबाट प्रभावित भएकैले हो, विश्व स्वास्थ्य संगठनले बारम्बार भनिरहेको छ, ‘कोरोनाको परीक्षण गरौँ, कोरोनाको परीक्षण गरौँ, कोरोनाको परीक्षण गरौँ ।’नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १२ चैत्र २०७६, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै